काठमाडौं- एसीसी यू–१९ पुरुष प्रिमियर कपको उपाधिका लागि आज नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ।
लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित यूएई पुगेको नेपाली यू–१९ टिम आज घरेलु टोलीसँग आमनेसामने हुँदैछ। यूएईको अमजानमा हुने फाइनल खेल बिहान १०:४५ बजे सुरू हुनेछ।
प्रतियोगिताभर शानदार प्रदर्शन गर्दै नेपाल अपराजित रूपमा फाइनलसम्म पुगेको हो। समूह चरणमा नेपालले साउदी अरेबिया र हङकङलाई ठूलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो।
समूह ‘सी’ विजेता नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गरेको थियो, जहाँ नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई ५१ रनमै समेटेको थियो।
अब नेपाली टिम लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। उता, अर्को फाइनलिस्ट यूएईले ओमानलाई ८ विकेटले हराउँदै नेपालसँगको भिडन्त सुनिश्चित गरेको हो।

