काठमाण्डौ- आज देशभरको मौसम सामान्यतया सफा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले अधिकांश क्षेत्रमा खुला मौसम अनुभव भइरहेको छ।
दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली देखिन सक्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो उपत्यकाको तापक्रम २०–२२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको महाशाखाले जनाएको छ।

