बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा तयारी सुदृढ गर्ने उद्देश्यले खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
थलारा गाउँपालिकाको आयोजना र प्रतिबद्ध परियोजनाको सहजीकरणमा मंगलबार भएको उक्त कार्यक्रममा खोज तथा पहिचान विधिको परिभाषा, भत्किएका संरचनामा उद्धार टोलीको संरचना र आवश्यक उपकरणहरूको प्रयोगबारे विस्तृत अभिमुखिकरण दिइएको थियोे ।
कार्यक्रमका बारेमा जानकारी दिँदै प्रतिबद्ध परियोजनाका कार्यक्रम अधिकृत तेज बोहराले गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण र द्रुत उद्धार क्षमताको अभिवृद्धि मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार, सहभागीहरूलाई उद्धार सामग्रीको प्रयोग, द्रुत प्रतिक्रिया प्रक्रिया, तथा आपतकालीन अवस्थामा आवश्यक समन्वय प्रणालीबारे व्यावहारिक प्रशिक्षण समेत प्रदान गरिएको थियो।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बल बझाङका प्रमुख डिएसपी दुर्गा प्रसाद भट्ट, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, सामाजिक विकास कार्यालय बझाङका प्रमुख प्रयागराज जोशी, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डि.बी. बिष्ट तथा कोषाध्यक्ष दोरेन्द्र खड्का लगायत अतिथिहरूको उपस्थिति थियो।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अध्यक्ष रोकायाले गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यलाई प्राथमिकतामा राखेको बताउँदै यस्तो अभिमुखिकरण तथा प्रशिक्षणले स्थानीय तहमा उद्धार क्षमतामा थप मजबुती आउने विश्वास व्यक्त गरे।

