काठमाण्डौ- आजदेखि देशभर मौसम पुनः बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको हो।
महाशाखाका अनुसार आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना छैन। तर पनि मौसम परिवर्तनका कारण कृषि, पर्यटन, पर्वतारोहण र स्वास्थ्य क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई नियमित मौसमी जानकारी लिन आग्रह गरिएको छ।
पश्चिमी वायुको प्रभाव राजधानी काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा देखिन सक्ने महाशाखाको पूर्वानुमान छ।

