बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ सुदाडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ। लामो समयदेखि सौर्य ऊर्जामै निर्भर रहँदै आएका स्थानीय नागरिकले अब राष्ट्रिय प्रसारण लाइनको विद्युत् प्रयोग गर्न पाउने भएका छन्।
भदौ १५ गते आइतबार एक विशेष कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले गाउँमा स्थापन गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत् उद्घाटन गर्नुभयो।

बाजागाजासहित गरिएको उद्घाटन कार्यक्रममा स्थानीयवासीले विद्युत् आगमनले जीवन सहज हुने विश्वास व्यक्त गरे।
स्थानीय रबिन्द्र मल्लले विद्युत पुगेपछि बालबालिकाले सहजै लेखपढ गर्न पाउने, घरधुरीमा बत्ती बाल्न सकिने तथा उद्योगधन्दा सञ्चालन गर्न मद्दत पुग्ने बताए।
सुदाडामा शाखा लाइन विस्तार कार्य समेत सम्पन्न भइसकेकाले अब नेपाल विद्युत् प्राधिकरणबाट मिटर जडान गरी विद्युत् प्रयोग गर्न सकिने भएको छ। बागथला प्रशाखाबाट विद्युत् आपूर्ति गरिएको हो।
२०७९ चैत २५ गते केदारस्यूँ गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणले तारुपरे निर्माण सेवा सल्यानसँग एक वर्षभित्र विद्युत् नभएका बस्तीमा वितरण लाइन विस्तार गर्ने सम्झौता गरेका थिए। १ करोड २५ लाख रुपैयाँमा पोल खरिदसहित सम्झौता भए पनि सडक अवरुद्ध, आवश्यक सामग्री ढुवानीमा ढिलाइ, भुक्तानीसम्बन्धी समस्या तथा दक्ष प्राविधिक अभावका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेको थिएन।
निर्माण कम्पनीका सञ्चालक गोविन्द पुनले आगामी मंसिर मसान्तसम्म बाँकी वडामा पनि लाइन विस्तार सम्पन्न गर्ने लक्ष्य रहेको बताए। हालसम्म वडा नं १, ४ र ९ मा लाइन विस्तार कार्य सम्पन्न भइसकेको छ भने चाँडै नै वडा नं १ को सेकु कनाडा र ९ को गल्लेखमा उद्घाटन गर्ने तयारी भइरहेको जानकारी सूचना अधिकारी लेखराज रावलले दिनुभयो। दशैंअघि वडा नं ६ को थापागाउँमा पनि विद्युत् पुर्याउने लक्ष्य कम्पनीले लिएको छ।
कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, वडा अध्यक्ष कल्याण मल्ल, सूचना अधिकारी लेखराज रावल, विद्युत प्राविधिक, समाजसेवी तथा स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

