काठमाडौं- हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्यभन्दा दक्षिणतिर र पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको छ। यसकै प्रभावले देशभर सामान्यतया बादल लागिरहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

