बझाङ— बझाङको दुर्गाथली गाउँपालिका–३ मा अवस्थित थलचौर माध्यमिक विद्यालयको शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक प्रतिनिधिहरूले पालिकामा ज्ञापनपत्र बुझाउँदै विद्यालयको विविध समस्या समाधानको माग गरेका छन्।
विद्यालयका शिक्षकमात्र नभई व्यवस्थापन समिति अध्यक्ष युवराज भण्डारीको नेतृत्वमा गएको टोलीले शुक्रबार गाउँपालिका अध्यक्ष दिलबहादुर थापालाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा विद्यालयमा हाल कक्षा ११ र १२ मा पठनपाठन गराउने शिक्षकको अभाव, विद्यालय भवनको अपुग, घेरबार र खानेपानीको समस्या जस्ता मुद्दाहरू उठाइएको छ।

वि.सं. २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७४ सालदेखि निजी स्रोतबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको थियो। तर हाल निजी स्रोतबाट कक्षा सञ्चालन गर्न कठिनाइ भएको भन्दै पालिकाको ध्यानाकर्षण गराइएको व्यवस्थापन समिति अध्यक्ष भण्डारीले बताए। उनले विद्यालयमा हाल कम्तीमा २ शिक्षकको तत्काल आवश्यकता रहेको समेत जानकारी दिए।
ज्ञापनपत्र बुझाउन पुगेका शिक्षक र अभिभावकहरूले शिक्षक अभावका कारण विद्यार्थीहरू अन्य विद्यालयतिर जान बाध्य भएको गुनासो गरे। वडाध्यक्ष रमेश बहादुर बोहराले पालिकाले पटक–पटक अनुगमन गर्ने आश्वासन दिए पनि कार्यान्वयन हुन नसकेको बताए। वडा नं. ४ का वडाध्यक्ष शिवराज जोशीले विद्यालयको समग्र सुधारका लागि सबै जनप्रतिनिधि एकजुट हुनुपर्नेमा जोड दिए।
गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष अम्मराज धामीले शिक्षक व्यवस्थापन नहुनुका पछाडि स्थानीय राजनीतिक प्रभावको पनि भूमिका रहेको बताए। उनले यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।
वडा नं. ५ का वडाध्यक्ष वकिल बहादुर जप्रेलले विद्यालयको समस्या कार्यपालिका बैठक र गाउँसभा मार्फत छलफल गरी समाधान गर्ने जानकारी दिए।
शिक्षा शाखा प्रमुख सुरेश बहादुर रावलले विद्यालयको समस्या बारे आफू जानकार रहेको र शिक्षक अभाव भएका विद्यालयमा बढी भएका विद्यालयबाट काजमा पठाउने तयारी भइरहेको बताए। प्रमुख रावलले विद्यालयमा पानीको समस्या समाधानका लागि पाइप दिने प्रस्ताव गरे पनि ‘ काट्ने’ प्रवृत्तिका कारण अभिभावकले चासो नदिएको बताएका छन।
पालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत बम बहादुर भण्डारीले समस्याको समाधान नियम अनुसार गरिने स्पष्ट पारे।
गाउँपालिका उपाध्यक्ष जनक बहादुर दौल्यालले विद्यालय विस्थापित हुनु राम्रो नहुने भन्दै गुणस्तरीय सुधारमा आफू सक्रिय रहेको बताए। अध्यक्ष दिल बहादुर थापाले आर्थिक अभावका कारण समस्या समाधानमा कठिनाइ भएको स्वीकार गर्दै गत वर्ष विद्यार्थी भर्ना नहुँदा शिक्षक व्यवस्थापनमा समस्या भएको उल्लेख गरे।
उनले यस वर्ष विद्यालयले समयमै विद्यार्थी भर्ना गरे पालिकाले शिक्षक व्यवस्थापनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

