उत्तमकुमार थापा, बझाङ
बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनसम्बन्धी एक दिवसीय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ। तलकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम वन उपभोक्ता समितिका पदाधिकारीहरूसँग गरिएको हो।
गोष्ठीमा जलवायु परिवर्तनले समुदायमा पार्ने असर, त्यसको सामना गर्न आवश्यक तयारी र अनुकूलन उपायहरूबारे जानकारी दिइएको थियो। समुदायमा आधारित कार्यक्रम अन्तर्गत सञ्चालित यो गोष्ठीमा सहभागीहरुलाई आवश्यक प्रशिक्षण प्रदान गरिएको थियो।
तलकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याउँदै विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता अधिकृत कमल खड्काले गर्नुभएको थियो। कार्यक्रममा कृषि तथा वन विज्ञ जिल्ला सल्लाहकार वीरेन्द्र थापा, स्थानीय अनुकूलन परियोजनाका भरत चौलागाईं लगायतको उपस्थिति रहेको थियो।
उक्त गोष्ठीमा गाउँपालिकाभित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूबाट १५० भन्दा बढी प्रतिनिधिहरुको सक्रिय उपस्थिति रहेको थियो। जलवायु परिवर्तनको असरबारे समुदायमा चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले बताएका छन्।

