धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुख र प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई निलम्बन गर्ने सवालमा सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना (संरक्षक रेसम पक्षधर) प्रदेश सभा सदस्यहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।दुवै पार्टीका प्रदेश सभा सदस्यहरूले आफ्नो कुर्सीबाट उठेर विरोध जनाउँदै रोस्टमसमेत घेराउ गरेका थिए । उनिहरूले नाराबाजी गरेपछि सभामुख भीमबहादुर भण्डारीले ३० मिनेट बैठक स्थगित भएको घोषणा गरे। बिहान सवा १० बजे बोलाइएको बैठक ढिलो गरेर सुरु भएको थियो । बैठकको सुरुवातमै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो पार्टीको संसदीय दलको नेता आफू हुँदाहुँदै किर्ते नेता खडा गरेर मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्ने कार्य भएकोले मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको जिकिर गरे ।सो पार्टीका कैलाश चौधरी र टीका थापाले मुख्यमन्त्री नियुक्तिमा समर्थन जनाएका छन् । नागरिक उन्मुक्तिका दुवै जना सत्ता पक्षतिर बसेको बेला पाँच जना प्रदेश सभा सदस्य भने विपक्षतिर उभिएका थिए।
