Advertisement

अस्पताल सुरु नहुँदै गेटामा लुट : मन्त्री, निर्देशक र बायोमेडिकल इन्जिनयरको मिलेमतोमा ७० करोडको खरिद

Advertisement

काठमाडौँ : सुदूरपश्चिमाञ्चल क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने महत्त्वाकाङ्क्षी योजना अनुसार २०७३ बाट कैलालीमा गेटा मेडिकल कलेजको निर्माण सुरु भए पनि सात वर्ष त पूर्वाधार निर्माणमै बित्यो।

६ सय शय्याको अस्पताल सञ्चालनको लक्ष्य लिएर करिब ६ अर्ब सरकारी कोषबाट रकम खर्चिएर भौतिक पूर्वाधार बन्यो। ६ सय लक्ष्य राखिएको अस्पतालमा तीन सय शैयाहुँदै एक सय शय्या सञ्चालन गर्ने भन्दै आर्थिक वर्ष २०८०-०८१ मा करिब ७० करोड बराबरको मेसिन, औजार तथा उपकरण खरिद भयो।

अस्पतालको निर्माणको चरणबाटै आर्थिक रूपमा गेटा पटक-पटक विवादमा पर्दै आएको थियो नै। जब अस्पतालका लागि मेडिकल औजार तथा उपकरणको खरिद सुरु भयो सुविधा सम्पन्न अस्पताल बनाउने बहानामा अस्पताल नेतृत्वले खरिदमा लुटै मच्यायो।

उकेराले प्राप्त गरेको खरिद विवरणमा त्यस्तो कुनै टेन्डर देखिएन जुन मिलेमतोमा नभएको होस्। गेटाका लागि पहिलो अस्पताल प्रमुख डा प्रमोद जोशीले ८० करोड बजेट पार्न सफल भएका थिए।

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख हुँदाहुँदै उनी गेटा अस्पतालको निर्देशकमा सरुवा भएर गए। कैलालीमा गेटा अस्पताल बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनि आरजु देउवाको विशेष चासो देखिन्थ्यो।

आरजुसँगको निकटताले जोशीलाई गेटामा लैजान सहज भयो। उनले आफूसँगै ट्रमा सेन्टरका १० औँ तहका चिकित्सक डा विप्लव सापकोटालाई गेटा लगे। जोशीकै पालामा अस्पताल सञ्चालनका लागि उपकरण लगायतका सामग्रीको खरिदको प्रयास भएको थियो। यो बिचमा उनी सरुवा भएर नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आए। डा सापकोटाले प्रारम्भमा निमित्त पाए, पछि निर्देशकै भए।

निर्देशक भए लगत्तै उनले अस्पतालका लागि स्वास्थ्य सामाग्री तथा उपकरणको खरिद प्रक्रिया अगाडि बढाए। खरिद सुरु गरेको चार महिनाभित्र उनले ८० करोडमध्ये करिब ७० करोडको टेन्डर सक्काए।

उनले अस्पतालका लागि आवश्यक भनेर जति टेन्डर निकाले ती निश्चित कम्पनीको उत्पादक मेसिनसँग मिल्ने गरी मिलेमतोमै निकाले अनि खरिद गरे। अस्पतालमा चिकित्सकीय सेवा सुरु गर्ने लक्ष्यभन्दा पनि सरकारले छुट्याएको बजेटमा लुट मच्याउने उनको रणनीति रहेको खरिद भएका सामग्रीहरूको सूचीले समेत पुष्टि गर्छ।

तत्काल स्वास्थ्य सेवा सुरु गर्न आवश्यक स्वास्थ्य औजार तथा उपकरणमा भन्दा पनि उनले महँगा र तत्काल अस्पतालमा जनशक्ति उपलब्ध नभएका ठूला उपकरण किन्न केन्द्रित देखिए।

गेटाका निर्देशक डा. सापकोटालाई करारका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले खरिद लुटमा सघाए। उता गेटामा खरिद शुरु हुँदा यता केन्द्रमा पटक-पटक स्वास्थ्यमन्त्री बदलिरहे।

डा सापकोटालाई मोहन बस्नेतले निमित्तबाट निर्देशक बनाए। उनी हुँदै खरिद प्रक्रियाको आन्तरिक गृहकार्य सुरु गरेका डा विप्लवले उपेन्द्र यादव मन्त्री भएपछि खरिदको गति अगाडि बढाए। अधिकांश टेन्डर उपेन्द्रकै पालामा निस्कियो। उपेन्द्रको ठाउँमा प्रदीप यादव मन्त्री हुँदा गेटामा खरिदको रहलपहल मात्रै बाँकी थियो।

केन्द्रको सत्ता बदलिएर अहिले नेपाली काङ्ग्रेसबाट प्रदीप पौडेल स्वास्थ्यमन्त्री भए। मन्त्रीसम्म गेटामा खरिदको आवरणमा भएको लुटबारे पर्याप्त सूचना पुगिसकेको छ। खरिदबारे कुनै पनि निकायबाट अनुसन्धान भएमा डा सापकोटा र बायोमेडिकल इन्जिनियर चटौतले गरेका बदमासी लुक्न सक्ने अवस्थामा छैन। कतै अनुसन्धान सुरु होला कि भनेर अहिले निर्देशक डा सापकोटा हतारमा सय शय्याबाट अस्पतालमा सेवा सुरु गराउन अनुमति माग्न काठमाडौँ धाएको धाएकै छन्।

गेटा अस्पतालका निर्देशक डा. सापकोटाले  दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०-०८१ मा ७९ करोड बजेट थियो। त्यसमध्ये मेसिन औजार तथा उपकरण खरिदका लागि करिब ७२ करोड रकम छुट्टाएको थियो। यो रकममध्ये करिब ७१ करोडको सामग्री खरिद गरेको डा. सापकोटाले जानकारी दिए।

‘सबै गरेर ७१ समथिङको सामान खरिद गरेको’,उनले भने।

गेटाले स्वीकृति गरेको तीन वटा टेन्डर स्वीकृतीको सूचनाको आधारमा मात्रै ५५ करोड २२ लाखको मेसिन औजार तथा उपकरण लगायत स्वास्थ्य सामग्री खरिद गरेको पुष्टि हुन्छ। डा. सापकोटाकै भनाई अनुसार गेटामा करिब ७१ करोडको सामग्री खरिद भएको देखिन्छ।

डा विप्लव र हरेन्द्रको चलाखी

गेटा अस्पतालले टेन्डर आव्हान गर्दा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ–आइसिबी) को सट्टा धेरैजसो टेन्डर ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) नै गरेको देखिन्छ। उनले खरिदमा सिधै अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरे।

सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ङ’ को उपनियम (१) अनुसार खुला बोलपत्र आह्वान गर्दा दुई करोड रूपैयाँभन्दा बढी र पाँच अर्ब रूपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिदमा ऐनको दफा १५ को अवस्था बाहेक राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने उल्लेख छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा–१५ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्ने सम्बन्धी व्यवस्था छ। ऐनको दफा-१५ को उपदफा (१) को (क) मा सार्वजनिक निकायको माग अनुरूपको मालसामान वा निर्माण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल भित्रका एक भन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने अवस्थामा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नुपर्ने उल्लेख छ।

स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाटै खरिद गरेर ल्याउने हो। नेपालमा रहेकाहरू एजेन्ट मात्र हुन्। गेटाले टेन्डर निकाल्दा सामग्रीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएनन्, एजेन्टहरूबीच प्रतिस्पर्धा गराए। उनले नेपालमा रहेका स्वास्थ्य उपकरणका आपूर्तीकर्ताबीच पनि स्वस्थ प्रतिस्पर्धा हुने अवस्थै बनाएनन्।

उनले टेन्डर आव्हान गर्नु अगाडि नै निश्चित उत्पादक कम्पनीको मेसिन तथा उपकरणको स्पेशिफिकेशनसँग मात्र मिल्नेगरी गेटामा स्पेशिफिकेशन बनाए। एक वा दुई सप्लायर्ससँग मात्रै सामान किन्दा अन्य सप्लायर्स रिसाउन सक्ने जोखिम हेरेर उनले अधिकांश प्रभावशाली सप्लायर्सहरुलाई टेन्डर बाँडे।

त्यसमा आफूले भनेको सप्लायर्सलाई टेन्डर दिने सर्तमा तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सापकोटा र हरेन्द्रको सबै बदमासीमा मौन बसे। प्रदीप यादवले चाहेको खण्डमा खरिद बदमासी नियन्त्रण गर्न सक्थे। तर उनी पनि उसैगरी मौन बसे।

असार अन्तिममा बुझाउनुपर्ने मेसिन साउन १५ मा बुझेर गोदाममा

गेटा अस्पतालले निकालेको आठ करोड ३० लाख ६० हजारको ‘आइसीयु भेन्टिलेटर एन्ड मनिटर’ को ठेक्का काठमाडौँको महाराजगन्जमा ठेगाना भएको ‘म्याक्सिम इनकर्पोरेशन ट्रेडर्स प्रालि’ ले पायो।

अस्पतालले ‘आइसीयु भेन्टिलेटर’ १२ वटा, ‘पेशेन्ट मनिटर ५ प्यारामिटर’ ३० वटा, ‘पेशेन्ट मनिटर ७ प्यारामिटर’ ३६ वटा र ‘नन्–इनभेजिभ हेमोडाइनामिक्स मनिटर’ एउटा खरिद गरेको थियो।

अस्पतालले म्याक्सिमलाई ठेक्का दिएको आइसीयु भेन्टिलेटर र मनिटरको टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–एनसीबी–०९–२०८०–८१’ रहेको छ। अस्पतालले यो  टेन्डरमा पनि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी)लाई निषेध गरेर ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ–एनसीबी) गरेको थियो।

अस्पतालले २०८० चैत २६ गते (०८ अप्रिल, २०२४) मा आइसीयु भेन्टिलेटर र मनिटरको टेन्डर गरेको थियो। यो टेन्डरको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति २०८१ वैशाख २६ गते (०८ मे, २०२४) सम्मलाई तोकिएको थियो भने टेन्डर खुल्ने मिति पनि सोही दिनलाई तोकिएको थियो।

तर, यो टेण्डरका केही बुँदा संशोधन गर्दै अस्पतालले टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति पाँच दिन अगाडि सार्दै ३ मे, २०२४ सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति राख्यो। र, अस्पताल प्रशासनले चाहेकै कम्पनीलाई टेन्डर दियो।

असार मसान्त भित्र सबै सामान बुझाउनुपर्नेमा टेन्डर पाएको कम्पनीले सामान बुझाउन सकेन। तोकिएको मितिमा सामान नआएको अवस्थामा कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउनुपर्ने हो। तर गेटाका निर्देशकले सो कम्पनीसँग साउन १५ मा सामान लिए।

साउन १५ मा म्याक्सिमले लगेको सो सामान अहिले पनि गेटाको गोदाममा छ। उकेरासँग सो सामान साउन १५ मा गेटामा पुगेको प्रमाण सुरक्षित छ। यसबारे त्यही बेला निर्देशक सापकोटासँग जिज्ञासा राख्दा सो सामानको पेमेन्ट नभएको र अर्को आर्थिक वर्षमा बजेट विनियोजन भएमा मात्र लिने सर्तमा सामान झारेको तर्क गरेका थिए।

बाजालीसहित अधिकांश टेन्डरमा स्पेसिफिकेसन लक्ड

गेटाले २०८१ वैशाख १० (अप्रिल २२, २०२४) मा दुई वटा प्याकेजमा दुई लटमा वर्गीकरण गरेर ल्याब सम्बन्धी मेसिन खरिद प्रक्रिया अगाडि बढायो। अस्पतालले निर्माण गरेको स्पेशिफिकेशनमा राखिएका सर्तहरू चिनिया मेसिन उत्पादक कम्पनी ‘माइन्ड-रे’ को उत्पादन गरेको मेसिनसँगमात्रै मिल्ने थियो।

ल्याब सम्बन्धी मेसिनको यो टेन्डरमा करिब ३ करोड ९८ लाख  रकममध्ये लट–१ मा  करिब दुई करोड १० लाख ४० हजार र लट–२ मा एक करोड ८८ लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान भएको थियो।

ल्याबसम्बन्धी मेसिन खरिदका लागि ‘आइसिबी नम्बर ७’ को ‘लट-१’ र ‘आइसिबी नम्बर ८’ को ‘लट–२’ मा भएको टेन्डर चिनिया उत्पादक कम्पनी ‘माइन्ड-रे’ले उत्पादन गरेको मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरिएको थियो।

ल्याब सम्बन्धी सामग्रीको ‘आइटम नम्बर २’ रहेको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.१’ चिनिया उत्पादक कम्पनी माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरिएको थियो।

‘आइटम नम्बर २’ रहेको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.१’ मा भनिएको छ,‘अटोमेटेड हेमाटोलोजी एनालाईजर द्याट मेजर्स एट लिस्ट ५४ रिपोर्टेबल प्यारामिटर्स (होल ब्लड) रिपोर्टिङ प्यारामिटर्स इन्क्लुडिङ ५–पार्टडिफ्रेन्सियल अफ डब्लुबिसी विथ इम्याचुर ग्रान्युलोसाइट्स, एनआरबीसी, रिटीक्युलोसाइट्स एन्ड इएसआर फ्रम सिङ्गल स्याम्पल ट्युब। अटोमेटिक स्लाइड मेकर एन्ड स्टेनर फर प्रिपेयरेशन अफ ब्लड स्मीयर।’

यो बुँदामा भएको ‘… एन्ड इएसआर फ्रम सिङ्गल स्याम्पल ट्युब’ भन्ने वाक्य मेसिन उत्पादक कम्पनी माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरेर राखिएको थियो। अन्तमा भयो पनि त्यस्तै।

अर्को उदाहरण,

‘बालाजी सर्जिकल सप्लायर्स’ले ‘मोडुलर अप्रेसन थिएटर (मोडुलर ओटी)’को टेन्डर पायो। टेन्डरको प्रारम्भमै स्पेशिफिकेशन लक्ड गरेर अस्पतालले बालाजीलाई सहज हुनेगरी टेन्डर प्रक्रिया अगाडि बढाएको थियो।

मोड्युलर ओटीको स्पेशिफिकेशनमा भारतीय कम्पनीको क्याटलग नै कपिपेष्ट गरेर राखिएको थियो। अब कम्पनीको क्याटलगै कपीपेष्ट गरेपछि अन्य कम्पनी प्राविधिक मुल्यांकन छानिने सम्भावनै थिएन।

अन्तमा उसैले ६ करोड  ३६ लाखमा मोडुलर ओटी दिने टेन्डर पायो।  अस्पतालले २०८१ असार १५ (२९ जुन २०२४) गते स्वीकृतिको सूचना जारी गरेको थियो।

अस्पतालले बालाजीलाई ठेक्का दिएको ‘मोडुलर अप्रेसन थिएटर’को टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–एनसीबी–०३–२०८०–८१’ हो। अस्पतालले यो  टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी) भने गरेको थियो।

यसमा पनि टेन्डर स्वीकृतिको मिति अगाडि सारियो। गेटा प्रशासनले २०८० चैत ३० (१२ अप्रिल, २०२४) मा मोडुलर अप्रेसन थिएटरको टेन्डर गरेको थियो। यो टेन्डरको प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति २०८१ जेठ १४ (२७ मे, २०२४) सम्मलाई तोकियो। टेन्डर खुल्ने मिति सोही दिनलाई तोकियो।

तर, यो टेन्डरमा केही बुँदा संशोधन गर्दै अस्पतालले टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति १२ दिन दिन अगाडि सार्दै २०२४ मे १५ सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति राख्यो र सहमति गर्यो।

बेड र ट्रलीको टेन्डर पनि यही कम्पनीले पायो। टेन्डरमा आर्थिक र प्राविधिक प्रतिवेदनसँगै सिइ सर्टिफिकेट अनिवार्य हुने भए पनि बालाजीले टेण्डरमा सिई सर्टिफिकेट नै थिएन। तर मिलेमतोमा पास भयो र अस्पतालले बालाजीसँग चार करोड ४३ लाख ८६ हजारमा ‘हस्पिटल बेड्स एन्ड ट्रलिज्’ खरिद गर्ने निर्णय गर्दै २०८१ असार १५ गते (२९ जुन २०२४) गते सूचना जारी गर्यो।

अस्पतालले ‘हस्पिटल बेड्स एन्ड ट्रलिज्’ अन्तर्गतका आइसियु बेड ७० सेट, अस्पताल बेड सय सेट, ट्रली मायो ३० सेट, ट्रली मेडिसिनी ४० सेट, डेलिभरी बेड ३ सेट, ट्रली ड्रेसिङ २० सेट, ट्रली डाइट्री लिनेन् १० सेट, ट्रली पेशेनट ट्रान्सफर (म्यानुअल) १० सेट खरिद गरेको थियो।

अस्पतालले बालाजीलाई ठेक्का दिएको ‘हस्पिटल बेड्स एन्ड ट्रलिज्’को टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–आइसिबी–०१–२०८०–८१’ रहेको छ। अस्पतालले यो  टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी) गरेको थियो।

प्राविधिक मूल्याङ्कनको चरणमा बालाजी र मेडिइक्युप छनौट भएका थिए। सिई सर्टिफिकेट नभए पनि आर्थिकमा बालाजी छानियो। जानकारका अनुसार यी दुवै कम्पनीले चिनिया कम्पनीको उत्पादन दिनेगरी टेन्डर गरेका थिए।  अन्तमा बालाजी नै पास भयो।

यो त एक उदाहरण मात्रै हो। गेटाको गरेको अधिकांश टेन्डरको अवस्था यस्तै छ। अस्पताल प्रशासनले स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादकसँग मिल्नेगरी बनाएर महँगोमा सामान खरिद गरेको देखिन्छ।

एउटा मात्रै हैन, अधिकांश टेन्डरमा मिति हेरफेर गरिएका छन्। एकै कम्पनीलाई पटक-पटक टेन्डर दिइएको छ। केन्द्रमा रहेका ठूला एजेन्टहरूको नाममा टेन्डर पर्दा हल्ला हुने भएकाले अधिकांश काठमाडौँमा रहेका ठूला सप्लायर्सका कैलालीमा रहेका सब-एजेन्टहरूको नाममा पास भएको छ।

उकेराले प्राप्त गरेको विवरणमा बालाजी, ‘विजय ; सर्जिकल सप्लायर्स, डीबी मेडिसिन टेन्डरमा हाबी देखिए। केन्द्रमा रहेका इष्टवेस्ट कर्नसर्न, हिमालयन मेडिकल टेक्नोलोजिज्, मेडिक्युव नेपाल,ग्लोबल मेडिको, फेयर ट्रेड, आरआर रेडियोलोजी, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स, जेनरल मेडिकल सप्लार्यस, म्याक्स मेडिटेड सिस्टम, नेशनल इलेक्ट्रोटेकले टेन्डर पाएको देखिन्छ।

सब एजेन्ट डीबी मेडिसिनलाई १० करोडको टेन्डर

कैलालीको धनगढी ठेगाना भएको ‘डीबी मेडिसिन सेन्टर’ ले गेटाको ल्याब सम्बन्धी मेसिन (ल्याबोरेटोरी इक्वीप्मेन्टस् (लट–१) र लट दुईको टेन्डर पायो।

अस्पतालले डीबीसँग दुई करोड तीन लाखमा ल्याब सम्बन्धी मेसिन खरिद गर्ने निर्णय गर्दै २०८१ असार १५ गते (२९ जुन २०२४) गते सूचना जारी गरेको थियो।

अस्पतालले सो रकममा एउटा ‘फुल्ली अटोमेटेड बायोकेमेष्ट्रि वीथ इम्युनोसे इन्टेग्रटेड सिस्टम’ र अर्को ‘इन्टेग्रेटेड फुल्ली अटोमेटेड हेमाटोलाजी वीथ फुल्ली अटोमेटेड स्लाइड मेकर एन्ड स्टाइनर’ खरिद गरेको देखिन्छ।

अस्पतालले डीबी मेडिसिनलाई ठेक्का दिएको ल्याब सम्बन्धी मेसिनको टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–आसिबी–०७–२०८०–८१’ रहेको छ। अस्पतालले यो  टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी) गरेको थियो।

गेटा अस्पतालले २०८० वैशाख १० गते (२२ अप्रिल, २०२४) मा अस्पतालको ल्याब सम्बन्धी मेसिनको टेन्डर गरेर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति २०८१ जेठ २४ (०६ जुन, २०२४) सम्मलाई तोकेको थियो। टेन्डर खुल्ने मिति पनि सोही दिनलाई तोकिएको थियो।

गेटाले यही डिबीलाई ल्याब सम्बन्धी मेसिन (ल्याबोरेटोरी इक्वीप्मेन्टस् (लट–२))को टेन्डर पनि दियो।

अस्पतालले एक करोड ८२ लाखमा ल्याब सम्बन्धी मेसिन खरिद गर्ने निर्णय गर्दै २०८१ असार १५ गते (२९ जुन २०२४) गते सूचना जारी गरेको थियो।

अस्पतालले डीबी मेडिसिनलाई ठेक्का दिएको ल्याब सम्बन्धी मेसिनको यो टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–आसिबी–०८–२०८०–८१’ रहेको छ। अस्पतालले यो  टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी) गरेको थियो।

गेटाले ‘अल्ट्रासाउन्ड एन्ड इको मेडिसिन’को टेन्डर पनि यही डिबीलाई दियो। अस्पतालले दुई करोड ४७ लाखमा ‘अल्ट्रासाउन्ड एन्ड इको मेडिसिन’को टेन्डर दिने निर्णय २०८१ जेठ २३ गते (५ जुन २०२४) गतेको सूचनामा उल्लेख छ।

अस्पतालले ‘डीबी मेडिसिन सेन्टर’लाई दिएको ‘अल्ट्रासाउन्ड एन्ड इको मेडिसिन’को टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–एनसीबी–०६–२०८०–८१’ रहेको छ। अस्पतालले यो  टेन्डरमा पनि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी)लाई निषेध गरेर ‘राष्ट्रियस्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ–एनसीबी) गर्यो।

चार करोड २४ लाखको प्लाज्मा स्टरिलाईजरको टेन्डर पनि डिबीले नै पायो। अस्पतालले ‘डीबी मेडिसिन सेन्टर’सँग चार करोड २४ लाखमा दुई वटा ‘लो टेम्प्रेचर प्लाज्मा स्टेरिलाईजर’ खरिद गर्ने निर्णय गर्दै २०८१ असार १५ गते (२९ जुन २०२४) गते सूचना जारी गरेको थियो।

यसको मूल्य ३५ हजार अमेरिकी डलर देखिन्छ। यसमा ल्याउँदा लाग्ने खर्च, भ्याट अनि नाफा जोडे पनि एउटाको बढीमा एक करोड पर्ने देखिन्छ। तर मिलेमतोमा डबल मूल्यमा किनियो।

डिबी सिधै तेस्रो देशबाट स्वास्थ्य उपकरण आयात गर्ने कम्पनी हैन। यो काठमाडौँमा रहेका अन्तर्राष्ट्रिय मेसिन उत्पादक कम्पनीको एजेन्टको सब-एजेन्ट हो। यो मुख्यतः हस्पिटेकसँग मिलेर काम गर्छ। हस्पिटेकका प्रमुख विशाल पण्डित हुन्।

विजयलाई ७ करोडको टेन्डर

अर्को स्थानीय एजेन्ट हो विजय सप्लायर्स। कैलालीको धनगढीमा रहेको यसले ‘मेडिकल ग्यास सिस्टम’ र डिजिटल मेमोग्राफीको टेन्डर पायो।

गेटाले विजय सप्लायर्ससँग पाँच करोड ६ लाखमा मेडिकल ग्यास सिस्टम खरिद गर्ने निर्णय गर्यो। अस्पतालले एउटा ‘लिक्विड अक्सिजन ट्याङ्क वीथ भ्यापोरिएर’, एउटा ‘पीएसए अक्सिजन जेनरेटर प्लान्ट’,  एउटा ‘सेन्ट्रल मेडिकल एयर सिस्टम’ एउटा ‘फिलिङ बुस्टर सिस्टम’ एउटा ‘सेन्ट्रल मेडिकल सक्शन सिस्टम’ खरिद गरेको थियो।

विजय सप्लायर्सलाई ठेक्का दिएको ‘मेडिकल ग्यास सिस्टम’को टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–आइसीबी–०२–२०८०–८१’ रहेको छ।

दुई करोड ४३ लाखको मेमोग्राफीको टेन्डर पनि ‘विजय सप्लायर्स’ ले नै पायो। २०८१ असार १५ गते (२९ जुन २०२४) मा जारी गरेको सूचनामा दुई करोड ४३ लाखमा विजय सप्लायर्ससँग  एउटा ‘डिजिटल मेमोग्राफी सिस्टम’ खरिद गर्ने निर्णय भएको उल्लेख छ।

अस्पतालले विजय सप्लायर्सलाई ठेक्का दिएको ‘डिजिटल मेमोग्राफी सिस्टम’को टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–आइसीबी–०६–२०८०–८१’ रहेको छ।

इष्ट वेस्टलाई ल्याप्रोस्कोपी र एनेस्थेसियाको टेन्डर

२०८१ जेठ १३ मा (२६ मे २०२४) गते ‘इष्ट वेस्ट कन्सर्न प्रालि’लाई ‘४के ल्याप्रोस्कोपी सिस्टम’को टेन्डर दिने निर्णय गर्यो। अस्पतालले एक करोड २५ लाखमा एक सेट ‘४के ल्याप्रोस्कोपी सिस्टम’ खरिद गर्ने गरी इष्टवेष्ट कन्सर्नलाई टेन्डर दियो।

इष्टवेष्ट कन्सर्न मेसिन उत्पादक सिमेन्स कम्पनीको नेपालस्थित एजेन्ट हो। सिमेन्स युरोपियन कम्पनी हो।

गेटाले इष्टवेष्टलाई टेन्डर दिएको ‘४के ल्याप्रोस्कोपी सिस्टम’को ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–एनसीबी–०५–२०८०–८१’ रहेको छ।

गेटाले २०८० चैत १८ (३१ मार्च, २०२४) मा ‘४के ल्याप्रोस्कोपी सिस्टम’  खरिदका लागि टेन्डर आह्वान गरेको थियो। टेन्डरको प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति नै २०८१ वैशाख १८ (३० अप्रिल, २०२४) सम्म र टेन्डर खुल्ने मिति पनि सोही दिनलाई तोकियो।

टेन्डरको केही बुँदा संशोधन गर्दै अस्पतालले टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति पाँच दिन अगाडि नै सार्दै २०२४ अप्रिल २५  मा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति राख्यो।

इष्टवेष्टले चार करोड २१ लाखको एनेस्थेसिया वर्क स्टेसनको टेन्डर समेत पायो। अचम्म के भने सुरु नै नभएको अस्पतालले एकै पटक ६ सेट ‘एनेस्थेसिया वर्कस्टेशन’ किनेको थियो। त्यसमा पनि यसको अधिकतम मुल्य ४० लाख पर्ने भए पनि ७० लाखमा किनेको देखिन्छ।

गेटाले २०८० चैत १८ (३१ मार्च, २०२४) मा ‘एनेस्थेसिया वर्कस्टेशन’  खरिदका लागि टेन्डर आह्वान गरेको थियो। यो टेन्डरको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति २०८१ वैशाख १८ (३० अप्रिल, २०२४) सम्मलाई तोकिएको थियो भने टेन्डर खुल्ने मिति पनि सोही दिनलाई तोकियो।

‘एचएमटी’लाई चार करोडको टेन्डर

२०८१ जेठ १३ मा (२६ मे २०२४) जारी गरेको सूचना अनुसार ‘हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि (एचएमटी)’लाई ‘रक्त बैङ्क सम्बन्धी मेसिन (ब्लड बैङ्क इक्वीप्मन्ट)’को टेन्डर दियो।

अस्पतालले हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’सँग दुई करोड ९३ लाखमा ‘ब्लड बैङ्क’ सम्बन्धी मेसिन खरिद गर्ने निर्णय गर्दै उसैलाई टेन्डर दियो।

गेटाले हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’लाई टेन्डर दिएको ‘ब्लड बैङ्क इक्वीप्मेन्ट’को ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–एनसीबी–०२–२०८०–८१’ रहेको छ। यती ठुलो रकमको ‘ब्लड बैङ्क इक्वीप्मेन्ट’को यो टेन्डरमा पनि गेटा अस्पतालले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी) लाई निषेध गर्यो।

‘ब्लड बैङ्क इक्वीप्मेन्ट’ यो टेन्डरको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने  र खुल्ने मिति २०८१ वैशाख १८ (३० अप्रिल, २०२४) सम्मलाई तोकिएको थियो।

तर, यो टेन्डरको केही बुँदा संशोधन गर्दै अस्पतालले टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति पाँच दिन अगाडि सार्दै २०२४ मार्च २५ मा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति राख्यो।

साढे एक करोडको इन्डोस्कोपीको टेन्डर पनि एचएमटीले नै पायो। अस्पतालले ‘हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालि’सँग एक करोड ४६ लाखमा एउटा ‘४ के एचडी इन्डोस्कोपी सिस्टम’ खरिद गरेको हो।

अस्पतालले हिमालयन मेडिकल टेक्नोलोजिज्लाई  दिएको ‘४के एचडी इन्डोस्कोपी सिस्टम’को टेन्डरको ठेक्का (आइएफबी) नं. ‘जीएच–जी–एनसीबी–१३–२०८०–८१’ रहेको छ। अस्पतालले यो  टेन्डरमा पनि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी)लाई निषेध गरेर ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ–एनसीबी) गर्यो।

अन्य ठेक्का पाउनेहरुमा ग्लोबल मेडिकोले साढे एक करोडको आर्थोस्कोपीको टेन्डर पायो। आरआर रेडियोलाई डिजिटल एक्स–रेको टेन्डर पायो।  ‘आरआर रेडियोलोजी प्रालि’ ले एक सेट ‘पोर्टेबल डिजिटल एक्स–रे इमेजिङ सिस्टम’को टेन्डर ७४ लाख ८० हजारमा पाएको थियो।

एक करोड ७५ लाखको हाइ इण्ड डिजिटल रेडियोग्राफीको टेन्डर ‘जनरल मेडिकल सप्लायर्स’ ले पायो। साढे ८७ लाखमा गेटाले नेश्नल इलेक्ट्रो टेकसँग एनआईसियु भेन्टिलेटर किन्यो।

‘नेश्नल इलेक्ट्रो टेक प्रालि’सँग उसले ८७ लाख ४९ हजारमा तीन वटा ‘एनआइसियु भेन्टिलेटर’ किनेको थियो।

गेटा अस्पतालले काठमाडौँको नयाँ वानेश्वरमा ठेगाना भएको ‘म्याक्स मेडिटेक सिस्टम प्रालि’लाई ‘हाइ इण्ड सी–आर्म मेसिन’को टेन्डर दियो।

अस्पतालले ‘म्याक्स मेडिटेक सिस्टम प्रालि’सँग एक करोड ८ लाखमा एउटा ‘हाइ इण्ड सी–आर्म मेसिन’ किन्यो। एक करोड ३५ लाखको एक सेट ‘मोबाइल सी–आर्म मेसिन’को टेन्डर ‘मेडिइक्वीप्स नेपाल प्रालीले पायो। ‘फेयर ट्रेड प्रालि’ ले एक करोड ४१ लाखको डिजिटल रेडियोग्राफीको टेन्डर पाएको थियो।  उकेरा बाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज