
धनगढी – धनगढी उपमहानगरपालिका-२, बैयाबेहडीमा रहेको शारदा माविले ४८औं वार्षिकोत्सव समारोह मनाएको छ ।
समाजसेवी फक्लु चौधरीले जग्गा दान गरेपछि २०३२ सालमा स्थापना भएको शारदा माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त समारोहमा २०८१ सालमा कार्यकाल सकिन लागेकाले आजसम्म गरेको योगदानका लागि शिक्षिका माला ओझा र चित्रा पनेरूलाई सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयमा अध्यापन गराइरहेका शिक्षक अर्जुन रजवारलाई विद्यालयमा २० वर्ष बढी सेवा प्रदान गरेको उपलक्ष्यमा वार्षिकोत्सव समारोहमा सम्मान गरिएको छ ।
त्यस्तै समारोहमा विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेका विभिन्न समाजसेवी व्यक्तिलाई सम्मान गरिएको छ ।
वार्षिकोत्सव समारोहमा अभिभावकको राम्रो उपस्थिति रहेको शारदा माविमा विद्यार्थीहरुले व्यवहारिक शिक्षा पाइरहेको प्रमुख अतिथि डाक्टर हरिप्रसाद लम्सालले बताएका छन् ।
विद्यालयमा शिक्षाका लागि राम्रो वातावरण भएको र अभिभावकले पनि घरमा आफ्ना बालबालिकालाई ध्यान दिन डाक्टर लम्सालले आग्रह गरेका छन् ।
आफूले ५ पाँच वर्ष बढी विद्यालयमा प्रधानाध्यापक भएर काम गरिरहँदा अभिभावक, समुदाय र सहयोगी मनहरुको साथ सहयोग रहेको विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले बताएका छन् ।
प्रधानाध्यापक सिंहले भने, “सबैको सहयोगले अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाउँन सकिएको छ । शारदा मावि धनगढीका औंलामा गणना गर्न सकिने स्कुलहरु मध्ये एक रहेको छ भने जनशक्ति र व्यवस्थापनले पनि हामी परिपूर्ण छौं ।”
वार्षिकोत्सव समारोहमा स्कुलका विद्यार्थीहरुले नृत्य, गायन र साइन्स प्रोजेक्ट लगायत विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए ।


