
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।
सोमबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।
‘‘अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरूमा बिरामीको सङ्ख्या अब घट्ने होइन बढ्ने हो । जनसङ्ख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरू बढ्न त जरुरी छ ।,’’ मन्त्री बस्नेतले भने, ‘‘एकथरी सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरू राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ । अर्को दक्ष जनशक्ति नहुने अवस्था, यसले यो स्वास्थ्य क्षेत्र अर्थात् आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारा आइलागेका छन् । र अर्को कुरा भौतिक पूर्वाधारदेखि लिएर अरू कुरा छन् ।’’

