
दिपायल – डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मङ्गलबार बिहान बँदेलको आक्रमणमा परी घाइते भएका दुई जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्लाको केआईसिँह गाउँपालिका– १ बसिनाका ७२ वर्षीय भगी भूल र सोही ठाउँकी ३५ वर्षीया जगुली देवी भूल घाइते भएका थिए ।
जगुली देवी भुलको अस्पताल पुर्याउनु अघि नै मृत्यु भएको जिल्ला अस्पतालका डा. निराजन श्रेष्ठले बताए । अर्का घाइते भगीको स्वाथ्य अवस्था सामान्य छ ।
घर नजिकै रहेको खेतमामा घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले बताए ।
डोटीमा प्रत्येक वर्ष जङ्गली जनावरहरू भालु र बँदेलको आक्रमणमा परी मानिसहरूले ज्यान गुमाउँदै आएका छन् ।

