
डडेलधुरा – भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन । गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ ।
मुकामको नै टुङ्गो लगाउन नसक्ने पालिकाका जनप्रतिनिधिले अरू विकासका काम कसरी गर्न सक्लान् र भनेर स्थानीयले चर्काे आलोचना गरेका छन् ।
तत्कालीन तीन वटा गाउँ विकास समिति बगरकोट, भागेश्वर र रुपाललाई गाभेर भागेश्वर गाउँपालिका स्थापना गरिएको थियो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि भागेश्वर गाउँपालिका–४ मा परेको बगरकोटलाई नै अस्थायी मुकाम बनाई हालसम्म कार्यसम्पादन गरिँदै आएको छ ।
विसं २०७५ पुस १३ गते तत्कालीन गाउँ सभाले गाउँपालिकाको मुकाम तीन वटै गाउँपालिकाको सिमाना जोडिएको क्षेत्र टप्वा वा गुवाडीमा तोक्ने निर्णय भएको स्थानीय दीपक महताले बताए ।
सोही विषयमा भएको एक छलफल कार्यक्रममा वडा नम्बर १, २, ३ र ५ का स्थानीयले गाउँ सभाले निर्णय गरेको टप्वा र गुवाडी क्षेत्रमा मुकाम तोक्ने भनेर गरेको निर्णय लागु गर्नुपर्ने मत राखेका छन् ।
वडा नम्बर ४ का स्थानीयले भने सो क्षेत्रमा जङ्गल भएकाले सेवासुविधा प्रवाह गर्न नसकिने भन्दै मुकाम तोक्न सकिने मापदण्डको पालना गर्नुपर्ने सुझाव राखे ।
सुरक्षा, खानेपानीलगायतका अन्य सेवासुविधाको ख्याल गरेर गाउँपालिकाको मुकाम तोकिनुपर्ने वडा नम्बर ४ वासीको भनाइ थियो । स्थानीय रामबहादुर ठकुराठीले चुनावका वाचा र गाउँ सभाले गरेको निर्णय लागु गर्नुपर्ने बताए । हाल गाउँपालिकामा नेपाली कांग्रेसको स्पष्ट बहुमत रहेको उल्लेख गर्दे उनले राय सुझाव, छलफल गर्नुभन्दा पनि चाँडो मुकामको टुङ्गो लगाउनुपर्ने बताए । -गोरखापत्रबाट

