नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुन लागेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो।
लिग चरणमा यी दुई टोलीबीच भएको प्रतिस्पर्धामा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। त्यस खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको थियो।
गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो। फाइनलमा सुदूरपश्चिमले दिएको ८५ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गरेको थियो। त्यसैले आजको खेल सुदूरपश्चिमका लागि अघिल्ला हारको बदला लिने अवसरसमेत हुनेछ।
यस सिजन लुम्बिनीले समग्रमा सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा उभ्याएको छ। समूह चरणका सात खेलमध्ये ६ मा जित निकालेको लुम्बिनी आज पनि आफ्नो लय कायम राख्दै सिधै फाइनल पुग्ने योजनामा छ।
यता, प्रतियोगिताको सुरुवाती चरणमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको सुदूरपश्चिमले पछिल्ला खेलमा प्रभावशाली पुनरागमन गरेको छ। लगातार चार खेल जितेको सुदूरपश्चिम आज पनि जित निकाल्दै तेस्रोपटक फाइनल पुग्ने दाउमा छ।
लगातार दुई संस्करण फाइनल खेलेर पनि उपाधिविहीन बनेको सुदूरपश्चिम यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ। त्यसका लागि टोलीले ब्याटिङ पक्ष थप मजबुत बनाउने प्रयासस्वरूप स्कटल्यान्डका आक्रामक ओपनर जर्ज मुन्सीलाई सोमबार टोलीमा अनुबन्ध गरेको छ।
आजको खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

