काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज लाग्दैछ। त्यसका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आजको प्रतिस्पर्धामा विजयी हुने टोलीले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग भिड्नेछ।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमका लागि फाइनल पुग्ने यो दोस्रो अवसर हो। पहिलो र दोस्रो संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ।
यता चितवन राइनोज भने पहिलोपटक एनपीएलको फाइनलमा स्थान बनाउने योजनासहित मैदान उत्रनेछ। चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो।
एलिमिनेटरमा चितवनले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सकेको थियो। उक्त हारसँगै काठमाडौँको उपाधि यात्रा समाप्त भएको छ।
आजको खेल दुवै टोलीका लागि फरक इतिहास रच्ने अवसरसमेत हो। चितवन पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम लगातार तेस्रोपटक उपाधि भिडन्तमा पुग्ने दाउमा छ।

