काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो ।
सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायके नायक बने । सुरुवातमै नियमित अन्तरालमा विकेट गुमाएर दबाबमा परेको टोलीलाई उनले अविजित ५३ रनको महत्त्वपूर्ण पारी खेल्दै जित दिलाए । ४२ बलको सामना गरेका उनले कठिन अवस्थामा संयमित ब्याटिङ गरे ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले १३ बलमा २३ रन जोड्दा जर्ज मन्सेले आठ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १५, इशान पाण्डेले १० र आरिफ शेखले पनि १० रनको योगदान दिए । स्कट कुगेलाइन भने दुई रनमै आउट भए ।
चितवनका रन्जित कुमारले दुई विकेट लिए । सलाउद्दिन खान, उसामा मिर, कमल सिंह ऐरी र रिजन ढकालले एक–एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । उसका लागि डाविड मलानले सर्वाधिक ७१ रनको अविजित पारी खेले । ५१ बल खेलेका उनले नौ चौका र दुई छक्का प्रहार गरे ।
चितवनका अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । सलाउद्दिन खानले १८ र कमल सिंह ऐरीले १० रन बनाउँदा बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन विकेट लिए । रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले एक–एक विकेट लिए ।
अब सुदूरपश्चिमले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायर जित्दै पुनः फाइनल यात्रा तय गरेको हो ।
यता एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराएर दोस्रो क्वालिफायर पुगेको चितवनको भने उपाधि यात्रामा पूर्णविराम लागेको छ ।

