काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा हुनेछ । जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
लिग चरणमा सात खेलबाट चार जित र तीन हार बेहोरेको काठमाडौँ ८ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । यता चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेल वर्षाका कारण रद्द भएपछि चौथो स्थान सुरक्षित गरेको थियो ।
लिग चरणको नतिजाका आधारमा काठमाडौँ केही बलियो देखिए पनि नकआउट चरणको प्रतिस्पर्धामा दुवै टोलीलाई जितको दबाब हुनेछ । काठमाडौँ आफ्नो लय कायम राख्ने प्रयासमा रहँदा चितवन भने जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ ।
आजको खेलमा विजयी हुने टोलीले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम पनि फाइनल पुग्ने दोस्रो अवसरको प्रतीक्षामा छ ।
दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ ।

