खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयोगकर्तामाथि कारबाही गर्न प्रशासनलाई चुनौती
धनगढी : तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व हो तर कैलालीमा पछिल्लो समय तिहारको रमझमसँगै पटाकाको आवाजले सर्वसाधारणको शान्ति र सुरक्षामाथि नै चुनौती थपेको छ । जिल्लाका विभिन्न बजार, बस्ती तथा सार्वजनिक स्थानमा ठूलो आवाज निकाल्ने पटाका पड्काउने क्रम बढ्दा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, अशक्त तथा सर्वसाधारण नागरिकले सास्ती खेपिरहेका छन् ।पटाका पड्काउनेहरूका लागि केही क्षणको रमाइलो बनेको विषय अरूका लागि त्रास र पीडाको कारण बनिरहेको छ । घरभित्र आराम गरिरहेका ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त व्यक्तिहरू अचानक आउने ठूलो आवाजबाट त्रसित भइरहेका छन् । साना बालबालिका, गर्भवती महिलामा डर र मानसिक तनाव उत्पन्न भइरहेको छ भने ध्वनि प्रदूषणले सर्वसाधारणको दैनिक जीवनसमेत प्रभावित बनाएको छ । यति हुँदाहुँदै पनि कैलालीमा पटाका पड्काउने तथा अवैध रूपमा बिक्री वितरण गर्नेहरूमाथि प्रभावकारी कारबाही भएको नागरिकले महसुस गर्न सकेका छैनन् । प्रशासनले प्रतिबन्ध र नियन्त्रणको सूचना जारी गरे पनि व्यवहारमा पटाकाको प्रयोग रोकिएको देखिँदैन ।
जिल्ला प्रशासन कार्यालय कैलालीले तिहार, छठ तथा अन्य चाडपर्वलाई सभ्य, सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दै पटाका तथा आतिसबाजीजस्ता विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले कानुनविपरीतका गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । त्यस्तै प्रहरीले पनि पटाका प्रयोग नगर्न र अवैध कारोबार नगर्न पटकपटक आग्रह गर्दै आएको छ । प्रशासनको आग्रह र बजारको वास्तविक अवस्था भने फरक देखिन्छ । प्रशासनले कडाइ गर्छौँ, ढुक्क भएर तिहार मनाउनुहोस् भन्ने सन्देश दिए पनि नागरिकले आफ्नै घरआँगनमा पटाकाको आवाज सहनुपर्ने अवस्था आउनु आफैमा दुःखद कुरा हो ।
कैलालीमा पटाका उत्पादन गर्ने उद्योग वा कारखाना रहेको सार्वजनिक जानकारी छैन तर जिल्लाका बजार तथा बस्तीमा प्रयोग भइरहेका पटाका कहाँबाट आइरहेका छन् भन्ने प्रश्न अझ बढी महत्वपूर्ण छ । कैलालीको दक्षिणी क्षेत्र भारतसँग जोडिएको छ । खुला सीमा र विभिन्न नाकाबाट सामानको ओसारपसार हुने अवस्थामा पटाकाजस्ता प्रतिबन्धित विस्फोटक पदार्थ पनि अवैध रूपमा भित्रिने सम्भावना रहन्छ ।भारतबाट पटाका भित्रिने र बजारसम्म पुग्ने बाटोमा प्रभावकारी निगरानी हुन नसकेसम्म यसको प्रयोग नियन्त्रण गर्न कठिन हुन्छ । सीमा क्षेत्रमा हुने चेकजाँच, भन्सार निगरानी, बजार अनुगमन तथा अवैध कारोबारमा संलग्न व्यक्तिको पहिचानलाई प्राथमिकता दिन आवश्यक छ ।
प्रहरीले कारबाहीका क्रममा पटाका बरामद गरेको समाचारसमेत सार्वजनिक भएका छन् । कार्तिक १८ गते कैलाली प्रहरीले करिब चार लाख २९ हजार पाँच सय रुपैयाँ बराबरका पटाका तथा विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको समाचार प्रकाशित भएको थियो ।त्यसैगरी कार्तिक १७ गते भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गर्ने क्रममा पटाकासमेत फेला परेको समाचार सार्वजनिक भएको थियो । यी घटनाले जिल्लामा पटाका अवैध रूपमा भित्रिने र ओसारपसार हुने गरेको विषयलाई थप गम्भीर बनाउँछन् तर केही स्थानमा बरामद गरेर नष्ट गर्नु मात्रै पर्याप्त छैन । पटाका कहाँबाट आयो, कसले ल्यायो, कसले बिक्री गर्यो र कसको संरक्षणमा बजारसम्म पुग्यो भन्ने विषयको पनि अनुसन्धान हुनुपर्ने देखिन्छ ।
पटाका सामान्य मनोरञ्जनको साधनजस्तो देखिए पनि यो विस्फोटक पदार्थ हो । यसको प्रयोगमा सामान्य लापरबाहीले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्छ ।पटाका पड्काउँदा हात, औँला, अनुहार र आँखामा चोट लाग्न सक्छ । कतिपय अवस्थामा आँखाको ज्योति गुम्ने, कानमा समस्या आउने तथा शरीरका विभिन्न भागमा जलन र गम्भीर घाउ लाग्ने जोखिम हुन्छ । विशेषगरी साना बालबालिका पटाकाको जोखिमबारे पर्याप्त जानकार हुँदैनन् । उनीहरूले पटाका हातमै समातेर पड्काउने, नजिकबाट हेर्ने वा नपड्किएको पटाका पुनः सल्काउने प्रयास गर्दा ठूलो दुर्घटना हुन सक्छ । पटाकाबाट निस्कने आगो र झिल्काले घर, पसल, कपडा, पर्दा, प्लास्टिक तथा अन्य सजिलै आगो लाग्ने सामग्रीमा आगलागी हुन सक्छ । बाक्लो बस्ती, बजार क्षेत्र र घरहरू एकअर्कासँग जोडिएका स्थानमा एउटा सानो आगलागीले ठूलो क्षति पुर्याउन सक्छ । त्यस्तै पटाकाको धुवाँले वायु प्रदूषण बढाउँछ । दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई थप असहज बनाउन सक्छ। ठूलो आवाजले बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा आवाजप्रति संवेदनशील व्यक्तिमा डर, तनाव र निद्रामा समस्या उत्पन्न गर्न सक्छ ।
यसको असर पड्काउने व्यक्तिमा मात्र सीमित हुँदैन । नजिकै रहेका निर्दोष नागरिकसमेत यसको जोखिममा पर्छन् । कानुनले नै पटाकालाई विस्फोटक पदार्थ मानेको छ । नेपालमा पटाका तथा आतिसबाजीको प्रयोगलाई सामान्य मनोरञ्जनको विषयका रूपमा मात्र हेरिएको छैन । मुलुकी अपराध संहिता, २०७४ ले पटाकालाई स्पष्ट रूपमा विस्फोटक पदार्थको सूचीमा राखेको छ।
संहिताको दफा १३८ मा इजाजतपत्रबिना विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ । यस दफाको स्पष्टीकरणमा आतिसबाजी र पटाकालाई समेत विस्फोटक पदार्थका रूपमा उल्लेख गरिएको छ।
त्यस्तै, दफा १३९ मा इजाजतपत्रबिना विस्फोटक पदार्थको कारोबार गर्न नहुने व्यवस्था छ । यस दफाअनुसार कारोबार भन्नाले खरिद, बिक्री, राख्ने, प्रयोग गर्ने, सञ्चय गर्ने, भण्डारण गर्ने, ओसारपसार गर्ने तथा आयात–निर्यात गर्ने कामसमेत बुझिन्छ ।
दफा १३९ को उपदफा (२) अनुसार सामान्य विस्फोटक पदार्थअन्तर्गत पर्ने पटाका तथा आतिसबाजीको अवैध कारोबार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
यसको अर्थ पटाका पड्काउने, बेच्ने, भण्डारण गर्ने वा ओसारपसार गर्ने कार्यलाई कानुनले सामान्य गल्तीका रूपमा लिएको छैन । आवश्यक इजाजतबिना गरिने यस्ता गतिविधि कानुनी कारबाहीको विषय हुन् । त्यसैगरी, दफा ११४ मा विषालु, आगोजन्य, प्रज्वलनशील तथा विस्फोटक पदार्थ प्रयोग गर्दा कसैको शरीर वा ज्यानमा खतरा पुग्ने गरी लापरबाही गर्न नहुने व्यवस्था छ।
विस्फोटक पदार्थ प्रयोग गर्दा कसैको ज्यान वा सम्पत्तिमा क्षति पुगेमा घटनाको प्रकृति र अन्य लागू हुने कानुनी व्यवस्थाअनुसार थप फौजदारी जिम्मेवारीसमेत सिर्जना हुन सक्छ । पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था पनि संहिताको दफा १४५ मा छ।
अर्थात्, पटाका पड्काएर अरूको स्वास्थ्य, ज्यान वा सम्पत्तिमा क्षति पुर्याउने कार्यलाई रमाइलोका नाममा उन्मुक्ति दिन मिल्दैन ।

