दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबाट सुरु गर्ने तयारी गरेको छ।
पठाओ, इनड्राइभ र उबरजस्तै प्रविधिमा आधारित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यसहित कम्पनीले दाङमा सेवा सुरु गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाएको जनाएको छ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिबी रावतका अनुसार दाङलाई कम्पनीको पहिलो सेवा क्षेत्र बनाइएको हो। आफ्नो जन्मभूमिबाटै नयाँ व्यवसायको सुरुवात गरी स्थानीय स्तरमा रोजगारी र यातायातको अवसर सिर्जना गर्ने उद्देश्य रहेको उनले बताए।
सुरुआती चरणमा घोराही, तुलसीपुर, लमही र भालुवाङ क्षेत्रमा सेवा उपलब्ध गराउने कम्पनीको योजना छ। यात्रुको आवश्यकता र स्थानीय अवस्थाअनुसार बाइक, अटो, कार र साइकलमार्फत राइड–सेयरिङ सेवा सञ्चालन गरिनेछ।
कम्पनीले सेवा सञ्चालनका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको जनाएको छ। दाङमा सेवा प्रभावकारी रूपमा सञ्चालन भएपछि राप्ती क्षेत्रका पहाडी जिल्लासहित क्रमशः देशका अन्य भागमा विस्तार गर्ने तयारी छ।
‘सेफ राइड’ले काठमाडौंलाई भने प्रारम्भिक केन्द्रका रूपमा राखेको छैन। देशका विभिन्न जिल्लामा सेवा विस्तार गरेपछि मात्रै काठमाडौंमा प्रवेश गर्ने कम्पनीको रणनीति रहेको रावतले बताए।
कम्पनीले यात्रु तथा चालकलाई जोड्ने मोबाइल एपसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। एपमार्फत राइड बुकिङदेखि सेवा व्यवस्थापनसम्मका काम डिजिटल माध्यमबाट गर्ने योजना छ। कम्पनीले सुरक्षित, सहज र तुलनात्मक रूपमा किफायती यातायात सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
रावतका अनुसार कम्पनीको दीर्घकालीन योजना शहरी क्षेत्रमै सीमित रहने छैन। कर्णालीलगायत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म प्रविधिमा आधारित यातायात सेवा पुर्याउने लक्ष्य राखिएको छ। यसबाट स्थानीय युवालाई आफ्नै ठाउँमा आयआर्जनको अवसर उपलब्ध गराउने कम्पनीको अपेक्षा छ।
कम्पनीले यातायात सेवासँगै भविष्यमा हेलिकप्टर र एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना पनि बनाएको छ। विशेषगरी दुर्गम क्षेत्रमा आकस्मिक उद्धार, बिरामीको तत्काल स्थानान्तरण तथा आपत्कालीन सेवामा प्रविधिको प्रयोग बढाउने उद्देश्यले यस्तो योजना अघि सारिएको रावतले बताए।
‘सेफ राइड’ले सञ्चालनको पहिलो वर्षमै करिब एक लाख स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ। कम्पनीबाट हुने आम्दानीलाई नेपालमै पुनः लगानी गर्ने र त्यसलाई रोजगारी, स्थानीय सेवा तथा आर्थिक गतिविधि विस्तारमा प्रयोग गर्ने योजना रहेको रावतको भनाइ छ।
विदेशमा रहेका नेपालीले आफ्नो जन्मभूमिमा लगानी बढाए स्थानीय अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्ने उनको धारणा छ। यही सोचका साथ ‘आफ्नो ठाउँ आफैँ बनाऔँ’ भन्ने अवधारणालाई केन्द्रमा राखेर कम्पनी अघि बढाइएको उनले बताए।
‘हामी बनाउँछौँ हाम्रो ठाउँ’ भन्ने अभियानसँग जोडिएको ‘सेफ राइड’ले अन्य राइड–सेयरिङ सेवाभन्दा फरक व्यवसायिक मोडल अपनाउने दाबी गरेको छ। कम्पनीको प्राथमिकतामा नेपालमै लगानी विस्तार, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा योगदान पुर्याउने विषय रहेको रावतले बताए।
जन्मभूमि दाङबाट सुरु हुने कम्पनीको सेवा क्रमशः देशका विभिन्न जिल्लामा पुर्याउँदै स्थानीय आवश्यकता पूरा गर्ने र युवालाई स्वरोजगारसँग जोड्ने लक्ष्य लिइएको छ।

