दार्चुला- दार्चुलाबाट ९० हजार १२० किलोग्राम हिमाली जडीबुटी बाहिरी जिल्ला तथा विदेशमा निकासी भएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुलाबाट गत आर्थिक वर्ष २०८२/८३ मा उक्त हिमाली बाहिरी अन्य जिल्ला तथा विदेशमा निकासी भएको हाे ।
जिल्लाबाट कैलाली, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा जडीबुटी निकासी हुने गरेको छ भने यार्चागुम्बा र वनलसुनजस्ता बहुमूल्य जडीबुटी विदेशमा समेत निर्यात हुने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन अमरसिंह धामीले जानकारी दिए।
उनका अनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाबाट हरेक वर्ष १० देखि १२ प्रकारका जडीबुटी निकासी हुने गरेका छन्। बहुमूल्य जडीबुटी यार्चागुम्बा भने अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको छ।
डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी दुर्गा जोशीका अनुसार गत आवमा ४४४.०६ किलोग्राम यार्चागुम्बा, २ हजार ५३६.२६ किलोग्राम वनलसुन, २३५ किलोग्राम टिमुर, २० क्विन्टल पाषाणभेद, चार क्विन्टल सुगन्धवाल, २० क्विन्टल अमला, ९६ क्विन्टल अल्लो, १९७ क्विन्टल तेजपात, ३२५ क्विन्टल रिट्ठा, २० किलोग्राम सेतक चिनी र १७७ किलोग्राम चुत्रोलगायत जडीबुटी निकासी भएको छ।
अपि नाम्पा संरक्षण क्षेत्रभित्र मात्रै करिब ७० किसिमका जडीबुटी पहिचान भए पनि हालसम्म ३५ किसिमका जडीबुटीको मात्रै निकासी हुँदै आएको छ।
जडीबुटी निकासीबाट गत आर्थिक वर्षमा १३ करोड ९२ लाख २४ हजार ५५ रुपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

