स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले आज अनसन तोडेका छन्। सहमतिअनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने भएको छ। साथै, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी तथा जनशक्ति भर्ना, पाठ्यक्रम स्वीकृति र अन्य शैक्षिक तयारी तत्काल पूरा गर्ने सहमति भएको छ। त्यस्तै, ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदलगायतका सम्पूर्ण व्यवस्था तत्काल गर्ने सहमति भएको छ। विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्तिसहितका विषयमा आवश्यक संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनबाटै अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गर्ने सहमति पनि भएको छ। नेपालमा सञ्चालित चिकित्सासम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने प्रावधान कार्यान्वयनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने र छ महिनाभित्र रायसहितको प्रतिवेदन पेश गर्ने सहमति भएको छ।


