धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र गाँजाजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।
कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार ५ सय रुपैयाँसहित २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोटको रास्कोट नगरपालिका-४ घर भई हाल लम्कीचुहा नगरपालिका-३ बस्दै आएका २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्थित एक कोठाबाट ४ ग्राम ३२३ मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २८ वर्षीय आयुष सिंह, ३४ वर्षीय जयबहादुर भण्डारी, ३० वर्षीय टेकेन्द्र बस्नेत र २५ वर्षीय श्रीमल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले श्रीमल चौधरीको कोठामा खानतलासी गर्दा उनीहरू लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, टिकापुर नगरपालिका-१ समितिपुरबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय सागर खत्री र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्। शंकाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
गोदावरी नगरपालिका-५ गेटा सुकुम्बासी टोलबाट ३७० ग्राम गाँजाजस्तो देखिने धुलो पदार्थसहित ४५ वर्षीय खडक डंगौरा पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट ३३५ मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय राजेश राना र २५ वर्षीय किरण राना पक्राउ परेका छन्। त्यस्तै, धनगढी-७ जीपी चोकबाट २३८ मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय विकास जेठारा र २८ वर्षीय विवेकराज उपाध्याय पक्राउ परेका छन्।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

