काठमाडौं- देशभर मनसुनको प्रभाव थप सक्रिय बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र आज राति देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली, पहाडी र तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। बागमती, मधेस तथा अन्य केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
आज राति पनि देशभर अधिकांश स्थानमा वर्षा जारी रहने अनुमान छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्ने भएकाले नदी तटीय र पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

