काठमाडौं- नेपाल टेलिकमले हराएको वा बिग्रिएको फिजिकल सिम तथा ई-सिमको सट्टा नयाँ सिम लिन सकिने अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा शुक्रबारदेखि लागू भएको हो।
अब सेवाग्राहीले esim.ntc.net.np पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भरेपछि नयाँ फिजिकल सिम वा ई-सिमका लागि आवेदन दिन सक्नेछन्।
आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा फारममा उल्लेख गरिएको प्रतिनिधिमार्फत टेलिकमको काउन्टरबाट सिम प्राप्त गर्न सकिनेछ। सिम प्रतिस्थापनका लागि ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ।
यदि प्रतिनिधिमार्फत सिम लिनुपर्ने भए प्रतिनिधिको नाम आवेदनमै उल्लेख गर्नुपर्नेछ। साथै प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।
टेलिकमका अनुसार उक्त पोर्टलमार्फत हराएको वा बिग्रिएको सिम प्रतिस्थापनका साथै नयाँ प्रिपेड ई-सिम लिन, फिजिकल सिमलाई ई-सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम प्राप्त गर्न तथा ग्राहक विवरण (KYC) अद्यावधिक गर्न समेत सुविधा उपलब्ध रहेको छ।

