काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले उल्लेख्य वर्षा हुने अवस्था बनेको हो।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने जनाउँदै विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

