सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठान गरी मनाइँदैछ।
आज सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाइने परम्परा छ। यही दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुन्छ। वैदिक सनातन परम्परामा माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष महत्वका साथ लिइन्छ।
असार महिनाभर खेतीपातीमा व्यस्त रहने नेपाली समाजमा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न साउने सङ्क्रान्तिमा ‘लुतो फाल्ने’ परम्परा रहिआएको छ। संस्कृतिविद्हरूका अनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखेर कण्डारक नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको छ।
लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने प्रचलन पनि नेपाली समाजमा प्रचलित छ।
साउन महिनालाई भगवान् शिवको विशेष आराधना गर्ने पवित्र महिनाका रूपमा पनि मानिन्छ। यस अवसरमा महिलाले हरियो चुरा, हरिया वस्त्र र मेहन्दी लगाउने परम्परा छ, जसले हरियाली र प्रकृतिसँगको निकटता झल्काउँछ।
साउन महिनाभर पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा–आराधना र दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ।

