बैतडी- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्दै जातीय विभेद र सामाजिक कुरीति अन्त्य गर्ने अभियान सञ्चालन गर्दै आएका छन्।
जिल्लाको श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले वैदिक विधिअनुसार दलित समुदायमा सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, गृहप्रवेश, वास्तुपूजा, श्राद्ध तथा अन्य धार्मिक अनुष्ठान गरी सयौँ धार्मिक कार्य सम्पन्न गरिसकेको बताएका छन्।
उनका अनुसार हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ लघुरुद्राभिषेक, १८९ महारुद्राभिषेक, ३ हजार ९११ न्वारन, ५६७ व्रतबन्ध, ७२२ सत्यनारायण पूजा, ६२२ ग्रहशान्ति, ३९ शतचण्डी, ६२ अखण्ड रामायण, ५७९ स्वस्थानी व्रतकथा, ५५ त्रिपिण्डी श्राद्ध, ७९ गरुड पुराण, ७११ पार्वण श्राद्ध र ९३४ एकोतिष्ट श्राद्धलगायत सयौँ धार्मिक कर्मकाण्ड सम्पन्न भएका छन्।
पन्तले दलित समुदायमा धार्मिक समानताको अभ्यास गराउँदै १ हजार ६९३ जना शिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेका छन् भने ४११ जना दलित महिलालाई दूधागो (दोरक) धारण गराएका छन्।
धर्मग्रन्थले जातीय वा लैङ्गिक विभेद नगरेको उल्लेख गर्दै उनले समाजमा कायम रहेको छाउपडी प्रथा, जातीय विभेद तथा धार्मिक कुरीति हटाउन धार्मिक अगुवाहरूले नै अग्रसर हुनुपर्ने धारणा राख्दै आएका छन्।
उनका अनुसार अहिले पनि सुदूरपश्चिमका धेरै स्थानमा ब्राह्मणहरूले दलित बस्तीमा न्वारन, विवाह वा व्रतबन्ध गराउने प्रचलन छैन। श्मशानघाटसम्म जातीय विभेद हुने गरेको भन्दै उनले यस्तो कुरीति अन्त्य गर्न आफूले दलित बस्तीमै पुगेर पूजा गर्ने र उनीहरूकै घरमा भोजन गर्ने गरेको बताए।
उनले दलित समुदायभित्र पनि एक समुदायले अर्को समुदायसँग पानी–भान्सा नचलाउने विभेद रहेको उल्लेख गर्दै त्यसलाई पनि अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
अथर्ववेदलाई दलितको वेद भन्दै भुइँमा पानी खसाल्ने परम्परा गलत भएको उनको भनाइ छ। विज्ञान र प्रविधिको विकासमा वैदिक ज्ञानको योगदान रहेको दाबी गर्दै त्यही ज्ञान र सीप प्रयोग गरेर बनेका साधन–स्रोत उपयोग गर्ने समाजले शिल्पी समुदायमाथि विभेद गर्नु विडम्बनापूर्ण भएको उनले बताए।
दलित बस्तीमा कर्मकाण्ड गर्न थालेपछि आफ्ना पुर्खादेखिका ५७५ गैरदलित यजमान गुमाएको पन्तले बताए। सामाजिक सञ्जालमार्फत गालीगलौज र आलोचना खेप्नुपरे पनि आफ्नो अभियानबाट पछि नहट्ने उनको भनाइ छ।
“मलाई सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरिए पनि धर्म र मानवताको बाटोबाट विचलित भएको छैन,” उनले भने।
उनले प्रत्येक हिन्दू परिवारमा वेद, पुराण, शालिग्राम, तुलसी, शङ्ख–घण्ट तथा पाञ्चायन देवताको स्थापना गराउने आफ्नो लक्ष्य रहेको बताए। धर्मशास्त्रका आधारमा महिला र पुरुष मात्रै दुई जात हुने र अन्य जातीय विभेद मान्य नहुने उनको तर्क छ। साथै, विभेदकारी व्याख्या भएका ग्रन्थहरूको पुनरावलोकन आवश्यक रहेको र सबै धार्मिक स्थल तथा धार्मिक गतिविधिमा सबै समुदायको समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

