धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमणीय वातावरणले यस झरनाले समग्र वडाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएको छ।
यति ठूलो सम्भावना बोकेको पर्यटकीय स्थल भए पनि पर्याप्त प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण तथा स्थानीय सरकारको प्राथमिकतामा पर्न नसक्दा दानछडा झरना अझै ओझेलमै परेको छ। यदि यसको व्यवस्थित प्रचारप्रसार गरिनुका साथै पहुँचमार्ग, विश्रामस्थल, सुरक्षा व्यवस्था र अन्य पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइयो भने यो क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने प्रबल सम्भावना रहेको छ।
पछिल्लो समय स्थानीय युवा पुस्ताले दानछडा झरनाको प्रचारप्रसार, संरक्षण तथा आवश्यक संरचना निर्माणका लागि आवाज उठाउँदै आएका छन्। सम्बन्धित निकायले पनि यस सम्भावनालाई समयमै पहिचान गरी आवश्यक योजना र लगानी अघि बढाउन सके दानछडा झरनाले स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ।

