Advertisement

सहिद बोहराकी आमा भन्छिन्– सन्चो बिसन्चो सोध्न पनि कोही आएनन्

Advertisement

महेन्द्रनगर । गत भदौ २३ गते साँझ बझाङ खप्तड छान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त थिइन् । साँझपख बझाङका आफन्तले खबर पुर्‍याए, ‘तिम्रो छोरा अब यस संसारमा रहेन ।’

सन्तानलाई राम्रो शिक्षादीक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आएकी उनलाई संसार सकिएजस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो ।

बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन ।

‘अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो’, कैलीदेवीले सुनाइन् ।

कैलीदेवी करिब १० महिनाअघि मजदुरी गर्नका लागि बैङ्ग्लोर पुगेकी थिइन् ।  छोराको मृत्युपछि बैङ्ग्लोरमा रहेका आफन्तले पैसा जुटाएर विमानमार्फत काठमाडौँ पठाएको उनले बताइन् । अहिले उनी कान्छो छोरा सन्दीपसँग काठमाडौँ सिनामङ्गलमा रहेको डेरामा दिन कटाइरहेकी छन् । ‘छोरा गुमाएपछि के गर्ने भन्ने सोच्नै सकेकी छैन, बाँकी दिन कसरी कटाउने हो टुङ्गो छैन’, उनले सुनाइन्, ‘सुभास विदेश गएर परिवार पाल्छु भन्थ्यो, आफैँ अस्तायो ।’

सुभासले सहादत प्राप्त गरेपछि कैलीदेवीले धनगढीमा कक्षा–९ मा पढिरहेको छोरा सन्दीपलाई लिएर काठमाडौँ गइन् । अहिले सन्दीपलाई एक जना म्याडमले तीनकुनेमा रहेको एउटा स्कुलमा तीन वर्षसम्म पढाइदिन्छु भनेकी छन् । ‘छोरा पढाउने जिम्मा एक जना म्याडमले लिनुभएको छ, बाँकी अहिलेसम्म सन्चो विसञ्चोसम्म सोध्न कोही आएको छैन’, उनले भनिन्, ‘हामी आमा छोरा टुहुरा जस्तै भएर बसेका छौँ ।’

काठमाडौँमा बस्न सुरु गरेपछि पैसाको अभाव बढ्दै गएको छ । डेरा भाडा मासिक रु छ हजार छ, त्यसको जोहो कसरी हुन्छ भन्ने पनि थाहा छैन ।

कैलीदेवीको जीवनमा आइपरेको दुःख यो नयाँ होइन, गत वर्ष श्रीमान् बेपत्ता भएपछि नै सुरु भएको हो । उनका श्रीमान् दीपक बोहरा भारतको बैङ्ग्लोरमा मजदुरी गर्थे । एक वर्षअघि घर आएका दीपक बझाङबाट धनगढी झरेका थिए । त्यसपछि परिवारसँग सम्पर्क छैनन् । श्रीमान् हराएपछि उनी आफैँ मजदुरी गर्न बैङ्ग्लोर पुगेकी थिइन् ।

‘दश महिना बैङ्ग्लोरमा घर घरमा पुगेर भाडा माझेँ, महिनामा २० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो, दसैँमा घर जान कान्छो छोरालाई रु १० हजार पठाएकी थिएँ, सुभासले केही दिनपछि पठाए पनि हुन्छ भनेको थियो’, उनले भनिन् । पहिले श्रीमान् र अहिले छोराले छाडेर गएपछि कैलीदेवीको परिवारमा आमा छोरा मात्रै रहेका छन् । आम्दानी नभएपछि परिवारमा आर्थिक सङ्कट चुलिन थालेको छ । अहिले उनी काठमाडौँमा छोरासँगै बस्नका लागि आयस्रोतको बाटो खोज्दै छिन् ।

भीमराज सहिद बन्दा व्यवसाय चौपट

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेर बझाङ दुर्गाथली गाउँपालिका–१ का २८ वर्षीय भीमराज धामीले सहादत प्राप्त गरे ।

६ वर्षदेखि कीर्तिपुरमा गाई फार्म र डेरी सञ्चालन गर्दै आएका धामी आठ दाजुभाइमध्येका कान्छा हुन् । सहिद धामीका दाजु दुर्गाथली गाउँपालिका–१ का वडाध्यक्ष अम्मरराज धामीले भाइको निधनपछि परिवारमा पहिरो गएको बताए ।

‘तीन महिनाको दूधे बालक छोडेर भाइ भीम सदाका लागि कालीमाटीमा अस्तायो’, वडाध्यक्ष धामीले भने, ‘कोरिया जाने योजनामा काठमाडौँ गएको थियो, जाने निश्चित नभएपछि कीर्तिपुरमा व्यवसाय सञ्चालन गरिएको थियो ।’

भीमराजले सञ्चालन गरेको गाई फार्म र डेरी चलाउन अहिले सकस भइरहेको छ । ‘करिब रु ५० लाख व्यवसायमा लगाएको थिएँ, घटनापछि सबै चौपट भयो, यता परिवारको बिचल्ली उता व्यवसाय सञ्चालनमा समस्या भयो’, उनले भने ।

भाइलाई सरकारले सहिद घोषणा गरेर क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको उनले बताए । सरकारले जेनजी आन्दोलनका क्रममा सहिद बनेका मृतकका परिवारलाई रु १० लाख दिने घोषणा गरेको छ ।

रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज