बझाङ- सुदूरपश्चिमको दुर्गम गाउँ बझाङको केदारस्यूँ गाउँपालिका–६, भाडसैनमा स्थापना गरिएको बाह्रदेव क्याम्पस सोमबार एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।
“शिक्षा नै समाजको मेरुदण्ड हो” भन्ने मूल उद्देश्यसहित स्थानीयको लामो संघर्ष र प्रयासपछि स्थापना गरिएको क्याम्पसको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डिन भवानीसिंह चलाउनेले गर्नुभयो।
समुदायको एकताको फल
कार्यक्रममा स्वागत मन्तव्य राख्दै चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा क्याम्पस स्थापनाका अगुवा जनकबहादुर धामीले स्थानीय समुदाय, जनप्रतिनिधि, शिक्षक र शिक्षाप्रेमीहरूको एकताले यो सम्भव भएको बताए।
“विकट ठाउँमा क्याम्पस स्थापना गर्नु आफैंमा चुनौती थियो,” उनले भने, “तर सबैको साझा प्रतिबद्धताले यो सपना साकार भयो।”
उनले क्याम्पस स्थापना अभियानमा सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. अम्मराज जोशी, हालका कुलपति डा. हेमराज पन्त, डिन डा. भवानीसिंह चलाउने, अनुसन्धान निर्देशक दमनबहादुर चलाउने, गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा, उपाध्यक्ष मनिषा धामी लगायतको महत्वपूर्ण योगदान रहेको स्मरण गरे।
२०८० सालदेखि स्थानीय, जनप्रतिनिधि, राजनीतिज्ञ र शिक्षकहरूले संयुक्तरूपमा उच्च शिक्षाका लागि भोग्दै आएको कठिनाईलाई ध्यानमा राख्दै भाडसैनमा क्याम्पस स्थापनाको पहल गर्दै आएका थिए । उक्त पहलपछि ५ असोज २०८२ मा सुदूरपश्चिम विश्व विद्यालयले क्याम्पस स्थापनाका लागि अनुमति प्रदान गरेको थियोे ।
शिक्षा गाउँमै, अब अन्यत्र धाउन नपर्ने
गाउँघरनजिक क्याम्पस नहुँदा उच्च शिक्षाका निम्ति माथिल्लो भूभाग केदारस्यूँ गाउँपालिका ५,६,७ र ८ दुर्गाथलि गाउँपालिका-६ बुङ्गल नगरपालिका लगायत केही भूभागका नागरिकले महंगी, उच्चशिक्षाबाट बञ्चित तथा बिचमै पढाइ छोड्नुपर्ने समस्या भाग्दै आएका थिए । सो क्षेत्रका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्यनका लागि धेरै पैसा,समय दुबै खर्चेर बुङ्गलको त्रिवेणी वा केदारस्यूँको बझाङदीप क्याम्पस धाउने गरेका थिए, भने पढ्ने चाहना भएक केही विद्यार्थी आर्थिक र लामोदुरीका कारणले पढाइ छाड्न बाध्य भएका थिए ।
अब भने क्याम्पसको उद्घाटनसँगै स्थानीय अवस्थामा उच्च शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। विगतमा उच्च शिक्षाका लागि दूरदराजका बजार तथा शहरमा निर्भर रहनुपरेका स्थानीय विद्यार्थीलाई घरमै किफायती र सहज शिक्षा प्राप्त गराउने उद्देश्य सहित क्याम्पस सञ्चालनमा ल्याइएको क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले बताइन् । क्याम्पस स्थापना भएपछि आर्थिक रूपमा कमजोर तथा साधन–स्रोत अभावका कारण बाहिर जान नसक्ने विद्यार्थीलाई शिक्षाको समान अवसर मिल्नेछ। साथै यस क्याम्पसले स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन, युवायुवतीको पलायन न्यूनिकरण, रोजगारीको अवसर सिर्जना तथा समुदायमा शैक्षिक चेतना अभिवृद्धि गरी गाउँको सामाजिक-आर्थिक विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
मेयर धामी र प्रवक्ता जोशीद्वारा सहयोगको प्रतिबद्धता
क्याम्पसलाई नगरपालिकाबाट हुने पूर्ण सहयोग गर्ने बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले घोषणा गरेको छन् । विकट गाउँठाउँका उच्चशिक्षाबाट बञ्चित तथा धेरै खर्च गरेर टाढा गएर अध्यन गर्नुपर्ने समस्याको अन्त्य भएको बताउँदै आफूले व्यक्तिगतरुपमा र नगरपालिकाले पनि सहयोग गर्ने प्रमुख धामीले बताए ।
त्यस्तै बित्थडचिर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र जोशीले पनि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे।
अध्यक्ष बोहरा: आर्थिक सहयोगको घोषणा
गाउँपालिका अध्यक्ष बोहराले क्याम्पसको स्थापनालाई ऐतिहासिक उपलब्धि भन्दै स्थानीय स्तरमा उच्च शिक्षा विस्तारका लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दै पालिकाको तर्फबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । उनलेे आफ्ना सहोदर भाइ अक्कल बोहरा र आफ्नो गरि आफ्नो बुवा गोपीलाल बोहराको नाममा २ लाख ४ हजार ४ सय ४४ रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका हुन् ।
डिन चलाउने : सहरमुखी होइन, अब गाउँमुखी शिक्षा
सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डिन चलाउनेले क्याम्पस सम्बन्धनलाई सुदूरपश्चिमका दुर्गम गाउँसम्म शैक्षिक अवसर विस्तार गर्ने अभियानको रूपमा अघि बढाइएको बताएका छन्।
क्याम्पस उद्घाटन कार्यक्रममा बोल्दै डिन चलाउनेले भने, “हामी सहरमुखी शिक्षा प्रणालीलाई गाउँमुखी बनाउँदैछौं। बाह्रदेव क्याम्पस यस दिशामा एक महत्वपूर्ण कदम हो।”
उनका अनुसार विश्वविद्यालयले दुर्गम क्षेत्रका विद्यार्थीलाई आफ्नै गाउँ नजिकै गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ।
दुर्गमसम्म शिक्षा पुर्याउने अभियानको नेतृत्व उपाध्यक्ष धामीबाट
क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले ग्रामीण भेगका छात्रछात्राका लागि क्याम्पस स्थापना शिक्षामा समान पहुँचतर्फको ऐतिहासिक कदम भएको बताएकी छिन्।
उद्घाटन कार्यक्रममा उनले सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै भनिन्, “पहिले टाढाको कारणले धेरै बालिकाले पढाइ बीचमै छोड्नुपर्थ्यो। अब उनीहरूले गाउँमै पढेर शिक्षक, नर्स वा स्थानीय नेता बन्ने सपना पूरा गर्न सक्छन्।”
उनका अनुसार दुर्गम क्षेत्रसम्म शैक्षिक पहुँच विस्तार र शिक्षाको गुणस्तर सुधार गाउँपालिकाको शीर्ष एजेन्डा बनेको छ। उपाध्यक्ष धामीले दृढतापूर्वक भनिन्, “हामी दुर्गमसम्म शिक्षा पुर्याएर गाउँका छोरीहरूलाई अवसरको मुख्यधारमा ल्याउने अभियानमा अहोरात्र खटिनेछौं।”
विभिन्न सहयोगीहरूद्वारा २० लाखभन्दा बढी चन्दा संकलन
शिक्षा क्षेत्रमा स्थानीय नागरिक समाजसेवी तथा शिक्षक र जनप्रतिनिधिको सक्रियता देखिएको छ । क्याम्पस सञ्चालन तथा व्यवस्थापनका लागि उद्घाटन समारोहमै आर्थिक सहयोग गर्नेको बर्षात भएको थियोे । उद्घाटन समारोहमा मात्रै ४८ जनाले चन्दा स्वरुप आर्थिक सहयोग गरेका हुन् । ठूलो लगानी आवश्यक पर्नेभएपछि क्याम्पस सञ्चालन र व्यवस्थापनका लागि सहयोगको अपिल गरिएको थियोे । पहिलो दिन उद्घाटन कार्यक्रममा ४८ जना सहयोगीबाट २० लाख ३९ हजार २ सय ९८ रुपैया संकलन भएको छ ।
सबैभन्दा ठूलो संख्यामा सहयोग केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले गर्नुभएको छ । उहाँले र उहाँका सहोदर भाइ अक्कल बोहराले बुवा गोपीलाल बोहराको नाममा २ लाख ४ हजार ४ सय ४४ रुपैयाँ आर्थिक सहयोगको घोषण गर्नुभएको छ । ठूलो रकम सहयोग गर्नेमा दोस्रो स्थानमा काडाँचौर घर भइ हाल चन्द्रोदय माध्यमिक विद्यालयको लेखापाल पदमा कार्यरत शिक्षक गणेशबहादुर धामीले रहनुभएको छ । उनलेे १ लाख २५ हजार ५ सय २५ रुपैयाँ आर्थिक सहयोग गरे । आर्थिक सहयोग गर्ने तेस्रो स्थानमा बुङ्गल नगरपालिका ८ का स्थानीय तथा पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह रहेका छन् । उनलेे क्याम्पसलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । त्यस्तै मष्टा गाउँपालिकाका लेखा अधिकृत तथा स्थानीय गगन बहादुर गुर्धामीले पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभयो ।, केदारस्यूँ गाउँपालिकम -६ का स्थानीय तथा पूर्व वडा सदस्य मानसिंह गुर्धामीले १ लाख १ हजार १ सय ११ रुपैयाँ , चन्द्रोदय मावि प्रअ जनक बहादुर धामीले ६१ हजार १ सय ६१ , चन्द्रबहादुर धामी सरस्वती आवि विनाडा शिक्षक ५६ हजार ५ सय ५५ , जयबहादुर धामी बुङ्गल नगरपालिका प्रमुख ५५ हजार ५ सय ५५ , डम्बरबहादुर धामी स्थानीय तथा बुङ्गल नगरपालिका प्राविधिक ५५ हजार ५ सय ५५ , दिपक बहादुर बोहरा नवज्योति आवि प्रधानाध्यापक ५५ हजार ५ सय ५५ , यातायात व्यवसायी मोहन बहादुर गर्धामी ५१ हजार ५ सय ५५ , खडक बहादुर विक अभिभावक ५१ हजार ३ सय १५, रामसिंह धामी क्याम्पस प्रमुख ५१ हजार १ सय ५१ , कर्णबहादुर बोहरा महादेव आवि भामचौर शिक्षक ५१ हजार १ सय ५१ , दलबहादुर बोहरा भवानी मावि बाझ प्रधानाध्यापक ५१ हजार १ सय ५१ , रामबहादुर धामी शिक्षक संघ अध्यक्ष ५१ हजार १ सय २५ , केशवराज भट्ट केदारस्यूँ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ५१ हजार १ सय ११, दलबहादुर धामी चन्द्रोदय मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ५१ हजार १ सय ११, बहादुर धामी भुमिदेव आवि रोतागडा प्रधानाध्यापक ५१ हजार १ सय ५ , जयबहादुर महता दुर्गाथलि गाउँपालिका-६ वडाध्यक्ष ३६ हजार ३ सय ५५ , खडक बहादुर धामी सुर्मा भवानी मावि काँडाचौर विद्यालय व्यवस्थापन समिति अध्यक्ष ३६ हजार १ सय ३६ , कृष्णराज दिवारी वडा सचिव ३५ हजार ५ सय ५५ , प्रेमबहादुर बोहरा (निराजन) महादेव आवि भामचौर विद्यालय व्यवस्थापन समिति अध्यक्ष ३५ हजार ५ सय ५५, जनक धामी रुमला जाग्री आरजे मोबाइल ग्यालरी प्रो ३५ हजार ५ सय ५५ , जयबहादुर बोहरा , बाह्रदेव क्याम्पस सञ्चालक समिति सदस्य ३५ हजार ५ सय ५ , कबिराज धामी भवानी मावि बाझ शिक्षक ३५ हजार १ सय ५ , मोहन ठगुन्ना केदारस्यूँ गाउँपालिका-५ वडाध्यक्ष २५ हजार ५ सय ५५, दलबहादुर बोहरा समाजसेवी २५ हजार १ सय , चक्रबहादुर धामी भवानी मावि बाझ शिक्षक २५ हजार ५, मानबहादुर बोहरा चन्द्रोदय मावि भाडसैन शिक्षक २५ हजार ५ , रामबहादुर धामी (रमेश) प्रवासी बाह्रदेउ ज्वावन समाज ब्याङ्लोर उपाध्यक्ष २४ हजार , प्रेम बहादुर धामी कैलाली मावि कोटेली प्रधानाध्यापक २२ हजार २ सय २२ , शेरबहादुर धामी वडा कार्यालय सहयोगी २१ हजार ५ सय ५५ , डम्बरबहादुर बोहरा चन्द्रोदय मावि विव्यस सदस्य २१ हजार १ सय ११, दिपेन्द्र बहादुर धामी सुर्मा भवानी मावि काडाँचौर प्रधानाध्यापक २१ हजार १ सय ११ , करसिङ्गे धामी समाजसेवी २१ हजार १ सय ११, धनशेर धामी नेपाली काँग्रेस केदारस्यूँ गाउँपालिका उपसभापति २० हजार १ सय ११, दिपक बहादुर बोहरा केदारस्यूँ गाउँपालिका ५ वडा सदस्य २० हजार १ सय ५, खडक बहादुर गुर्धामी सरस्वती आवि गाजरी शिक्षक २० हजार १ सय , अम्मरबहादुर गुर्धामी नेकपा एमाले वडा नम्बर ५ संयोजक २० हजार १ सय , गजेन्द्र शाही भैरव मावि झोता विद्यालय व्यवस्थापन समिति अध्यक्ष ११ हजार १ सय ११, बाबू सिंह बझाङदीप क्याम्पस झोता सञ्चालक समिति अध्यक्ष ११ हजार १ सय ११, शेरबहादुर बोहरा समाजसेवी , १० हजार १ सय ११, जगत बिक सरस्वती आवि गाजरी शिक्षक १० हजार १ सय, खडक बहादुर बोहरा जनचेतना आवि शिङेचुला कार्यालय सहयोगी १० हजार १ सय , कल्यान धामी बाह्रदेव क्याम्पस भाडसैन सञ्चालक समिति सदस्य १० हजार ५० , बिष्णु जोशी महादेव मावि बित्थडचिर स्याँडी शिक्षक ५ हजार ५ सय र बिरजित गुर्धामी समाजसेवीले ५ हजार ५ सय आर्थिक सहयोग गर्नुभएको छ ।
सहयोगीहरूको फोटोसहित तीन पुस्ते शिलालेख राखिने
यता क्याम्पस सञ्चालक समितिले ५१ हजार भन्दामाथि आर्थिक सहयोग गर्ने सहयोगीको फोटोसहित तीन पुस्ते शिलालेख राख्ने भएको छ । यस्तै ३५ हजारदेखि ५० हजार सम्म सहयोग गर्नेहरूको फोटोसहित तीन पुस्ते शिलालेख, २५ देखि ३४ हजार सम्म सहयोग गर्नेहरूको तीन पुस्ते शिलालेख, २० देखि २४ हजारसम्म सहयोग प्रदान गर्नेहरूको तीन पुस्ते शिलालेख, १० देखि १९ हजारसम्म सहयोग गर्नेहरूको चन्दादाताको नाम शिलालेख, ५ देखि ९ हजारसम्म सहयोग गर्नेहरूको भित्ते लेखनमा नाम राखिनेछ, भने ४ हजार ९ सयभन्दा कम सहयोग गर्नेहरूको अभिलेख राखिने क्याम्पस प्रमुख रामसिंह धामीले जानकारी दिए ।
शिक्षा शास्त्र संकाय अध्यापन हुने उक्त क्याम्पस पहिलो शैक्षिक सत्रमा १ सय जना विद्यार्थी भर्ना हुने अपेक्षा गरिएको छ।

