बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको वडा नं १ स्थित प्रसिद्ध राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलखाना जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीका अनुसार आज नगरपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय र शिक्षण संस्थामा सार्वजनिक बिदा छ ।
गिरेगडा कफलखाना जात्रा हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन सुरु भई कार्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) का दिन सम्पन्न हुने गर्दछ । यस वर्ष जात्रा आजदेखि सुरु भई भोलि हरिबोधनी एकादशीका दिन समापन हुने वडा नं १ का अध्यक्ष गणेशबहादुर गडालले जानकारी दिए ।
जात्रामा विभिन्न ठाउँका दर्शनार्थी पुग्ने गर्छन् । विशेषगरी यस जात्रामा ‘गीर खेल्ने’ परम्परागत चलन रहिआएको छ ।

