ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपाल आज सामोआसँग खेल्दैछ।
नेपाल यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ र अब च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रिन लागेको हो।
खेल आज दिउँसो सवा ४ बजे सुरु हुनेछ। तुलनात्मक रूपमा कमजोर मानिएको सामोआलाई हराएमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ।
नेपाल र सामोआबीच यो पहिलो अन्तर्राष्ट्रिय भिडन्त हुनेछ। नेपाल अहिले सुपर सिक्समा ८ अंकका साथ शीर्ष स्थानमा छ भने ओमान ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
अन्तिम दिन ओमानले जापानसँग खेल्नेछ। यदि नेपाल सामोआसँग हार्यो र ओमानले जित्यो भने रनरेटको आधारमा विजेता टुंगो लाग्ने छ।
गत खेलमा नेपालले ओमानलाई ८ रनले पराजित गरेको थियो। खेलपछि कप्तान रोहित पौडेलले टिमको नजर अब ट्रफीमा रहेको बताए। उनका अनुसार “हामीले गरेको मेहनतको फल राम्रो नतिजामा देखिएको छ।”
आगामी टी–२० विश्वकप सन् २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुनेछ। कप्तान पौडेलले सो विश्वकपमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्।

