धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जना पक्राउ परेका छन्।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि गोदावरीस्थित शुभम् होटलमा नास्ता खाइरहेका बेला धारिलो हतियार प्रहार गरिएको थियो।
घटनापछि फरार समूहका सदस्यलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ नजिकैबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्नी नेपालीसहित १० जना रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू “कोब्रा सरकार” नामले परिचित ग्याङका सदस्य हुन्। उक्त समूहको नेतृत्व सन्नी नेपालीले गर्दै आएको बताइएको छ।
गौरव ऐरमाथि राति करिब ११ बजेतिर होटलमा बसेर नास्ता खाइरहेका बेला बाहिरबाट आएको समूहले आक्रमण गरेको थियो। गम्भीर घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि अत्तरिया अस्पताल र नवजीवन अस्पताल हुँदै निसर्ग अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ।
भारततर्फ भाग्दै गरेका अभियुक्तहरूलाई सीमा नाकानजिकैबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

