धनगढी- कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीनवटा एयर कन्डिसनर (एसी) जडान गरेको खुलासा भएको छ।
सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ विपरीत चौधरीले कैलारी गाउँपालिका–४, भितरियास्थित आफ्नै घरमा पालिकाको बजेट प्रयोग गरी एसी जडान गराएको जनाइएको छ।
अध्यक्ष चौधरीको घरमा ‘ग्री’ ब्रान्डका एक टन क्षमताका दुई थान र १.५ टन क्षमताको एक थान एसी जडान गरिएको थियो। जेनजी आन्दोलनकारीले हालै उनको निवासमा आगजनी गर्दा ती तीनै एसी जलेर नष्ट भएपछि उक्त तथ्य सार्वजनिक भएको हो।
गाउँपालिकाले आगलागीबाट भएको क्षतिको विवरण तयार पार्दा चौधरीको घरमा रहेको एसीसहित अन्य विद्युतीय सामग्री पनि पालिकाको खर्चमा जडान गरिएको उल्लेख भएको पाइएको छ। ती सामग्रीमा दुई थान २०० एएच क्षमताका ब्याट्री, चार थान सिलिङ पङ्खा र ३२० भिए क्षमताको एक थान इन्भर्टर पनि समावेश छन्। यी सबै सामग्री आगलागीमा जलेर नष्ट भएका छन्।
आन्दोलनकारीले चौधरीको घरमा आगजनी गरेपछि उनको पक्की घर समेत पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय तहका जनप्रतिनिधिका सेवा तथा सुविधासम्बन्धी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको ऐनमा गाउँपालिकाका अध्यक्षले निजी निवासमा सरकारी खर्चमा एसी वा अन्य यस्ता सामग्री जडान गर्न सक्ने व्यवस्था भने छैन।

