काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल र जापानबीचको खेल आज हुँदैछ।
नेपाल र जापान दुवै टोली एक खेल अगावै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेपछि दुवै टोलीको अघिल्लो चरणमा स्थान पक्का भएको हो।
लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा नेपालसँग ५८ रनको हार बेहोरेको थियो।
अब आज हुने नेपाल र जापानबीचको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। दुवै टोलीका समान २–२ अंक भए पनि नेपाल नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहेको छ।

