काठमाडौँ- हिमाली जिल्ला मनाङमा कात्तिक १७ गते प्रदेशसभा सदस्यको उपचुनाव हुने भएको छ। निर्वाचन आयोगको बैठकले मनाङ–२ प्रदेशसभा रिक्त पदका लागि कार्यतालिका तय गरी जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो।
निर्वाचन अधिकृत गोविन्दप्रसाद अर्यालका अनुसार गएको भदौ १३ गतेदेखि नै चुनाव अवधि शुरू भएको छ। २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङ–१ प्रदेशसभा (२) बाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि उपचुनाव हुन लागिएको हो।
यसैबीच, प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले आगामी उपचुनावको सुरक्षा तयारीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–३२ गुल्मको निरीक्षण गर्दै चुनाव शान्तिपूर्ण र सफल बनाउन सबै निकायलाई सक्रिय हुन आग्रह गरेका हुन्।
सोही दिन रुपन्देही–३ प्रतिनिधिसभा क्षेत्रमा पनि उपचुनाव हुने छ। त्यहाँ राप्रपाका सांसद दीपक बोहोराको निधनका कारण पद रिक्त भएको हो।

