अस्ट्रेलियाका पावरफुल ओपनिङ ब्याटर क्रिस लिन नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै विदेशी खेलाडी भित्र्याउने संकेत गरेको थियो। पोस्टमा उल्लेख गरिएको “३९५५ रन र २२० छक्का” भन्ने तथ्यांक लिनले बिग ब्यास लिगमा गरेको प्रदर्शनसँग मेल खाने भएकाले विदेशी खेलाडी उनी नै भएको पुष्टि भएको हो।
क्रिस लिनले बिग ब्यासमा १२७ खेल खेलेर ३९५५ रन र २२० छक्का प्रहार गरेका छन्। उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले २९१ रन जोडेका छन्। सबै किसिमका टी–२० क्रिकेटमा उनले ५ शतकसहित २९३ खेलबाट ८३५५ रन बनाएका छन्।
सुदूरपश्चिमले आधिकारिक घोषणा भने अझै गरेको छैन। शुक्रबार उनीबारे औपचारिक जानकारी सार्वजनिक गर्ने जनाइएको छ।

