काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काका अनुसार रुकुम पूर्व, तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो।
उनीमाथि एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो। पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिइएको र दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको खड्काले जानकारी दिए।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।

