सुदूरपश्चिम प्रदेशमा मनाइने मौलिक गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली धुमधामका साथ मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन) मा लगेर पूजा गर्ने परम्परा रहिआएको पण्डित जयानन्द भट्टले बताए।
बर्तालु महिलाले दिनभरि बिरुडा (पाँच थरिका अन्न) सहित फाग गाएर गौरादेवीको पूजा गर्ने गर्छन्। हिजो चढाइएको दुबधागो (मन्त्रिएको धागो) आज महिलाले धारण गर्छन्। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँ महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने परम्परा रहेको छ।
गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लगिन्छ, जहाँ महिलाले सामूहिक रूपमा अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग पनि महिलाले फागमार्फत नै प्रस्तुत गर्छन्। पूजा सम्पन्न भएपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले महिलाले श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायुको कामना गर्दै टाउको पुज्ने परम्परा रहिआएको छ। पुरुषहरूले भने ठाडोखेल, ढुस्को धमारीजस्ता परम्परागत खेल खेल्ने गर्छन्।
आचार्य विष्णुदत्त भट्टका अनुसार महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारको सुखशान्तिका लागि व्रत बसी गौराको पूजा गर्ने मान्यता छ। सुदूरपश्चिमेलीहरूले यस पर्वलाई दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने गरेका छन्। गौराको अवसरमा परदेशिएकाहरू घर फर्किने र विवाहित चेलीहरू माइत आउने परम्परा छ।
यसैबीच, गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले आइतबार (भदौ १५) र प्रदेश सरकारले सोमबार (भदौ १६) बिदा दिएको हुँदा प्रदेशभर दुई दिन सार्वजनिक बिदा कायम भएको हो।

