धनगढी- सुदूरपश्चिम प्रदेशभर आज हर्षोल्लासका साथ मौलिक पर्व ओल्के मनाइँदैछ। ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ।
यस दिन आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड, पक्वान र अन्य परिकार ओल्कोका रूपमा दिने चलन छ। बिहानै धुहाइधुवाई गरी मीठो–मसिनो खाने, हातमा मेहेन्दी लगाउने र कृषिसम्बन्धी औजार तथा फलफूल आफन्तलाई दिने परम्परा पनि यसैसँग जोडिएको छ।
संस्कृतिविद् जयानन्द भट्टका अनुसार वर्षायाम सकिएपछि संकटबाट मुक्त भई नवजीवन प्राप्त भएको खुसीयालीमा यो पर्व मनाउने चलन बसेको हो। धेरै ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने प्रथा पनि रहिआएको छ। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाभन्दा अलग, मौलिक र जेठो पर्वका रूपमा सुदूरपश्चिममा प्रचलित छ। यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ।
पण्डित दयाकृष्ण पन्तका अनुसार, ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिने उपहार जनाइन्छ।
यसैबीच, ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

