कञ्चनपुर- कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका–१० मा २३ र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो।
उनका अनुसार बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजार क्षेत्रमा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय बासिन्दाको उपस्थितिमा छाउगोठ भत्काइएका हुन्।
गत असारमा कृष्णपुर–१ निगालीकी २८ वर्षीया कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो। त्यसपछि पालिकाहरूमा जनप्रतिनिधि र प्रहरीले संयुक्त रूपमा अभियान थालेका हुन्।
बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले वडा ४ र १० मा २३ वटा छाउगोठ भत्काएको बताए। “पुनः छाउगोठ नबनियोस् भन्ने चिन्ता छ, त्यसैले सम्बन्धित परिवारलाई अभिमुखीकरण गर्ने तयारीमा छौँ,” उनले भने।
त्यसैगरी, कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले वडामा १६ वटा छाउगोठ भत्काएको र अहिले स्थानीयहरू सचेत भएको बताए। अघिल्ला वर्षमा अवरोधका कारण रोकिएको अभियान यसपटक सहज भएको उनले उल्लेख गरे।
गत असार अन्त्यतिर निगालीमा कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र रु १० हजार जरिवानाको चेतावनी दिएको थियो।

