धनगढी- बझाङी बाघ उपनामले चिनिने नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई दुर्गाथलि गाउँपालिकाले बधाई तथा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । केही दिनअघि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट-१७ (MFN-17) मा भारतीय खेलाडी चुनरङ कोरेनलाई पराजित गर्दै वाटरवेट च्याम्पियनसिप टाइटल आफ्नो पोल्टामा पार्न सफल ढाँटलाई पालिकाले उक्त सहयोग गर्ने घोषणा गरेको हो ।
गाउँपालिकाले रविन्द्रको आगामी खेल यात्रा अझ सफल होस् भन्ने शुभकामनासहित उनलाई रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बधाई सन्देश जारी गर्दै ढाँटका उपलब्धिले नेपाली खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित बनाएको उल्लेख गरेका छन्। साथै, भविष्यमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन्। 

