धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब एक करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माका अनुसार सडक, भवन, पुल, तटबन्ध, कुलो, सिँचाइ, खेलमैदानलगायत संरचना निर्माणमा उक्त खर्च भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक निर्माण गरियो। छवटा सडक पुल र छवटा सरकारी तथा सामुदायिक भवन निर्माण भएको छ।
आवास तथा खेलकुद पूर्वाधारमा समेत प्रगति
जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी र तीनवटा एकीकृत आवास निर्माण भएको छ। साथै, २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, दुईवटा कभर्डहल, तीनवटा पार्क, र १० वटा खेलमैदान बनाइएको मन्त्रालयले जनाएको छ।
सिँचाइ र तटबन्ध विस्तारमा जोड
२६ किलोमिटर तटबन्ध निर्माण गरिएर ३७ हेक्टर जमिन नदी कटानबाट जोगाइएको छ। साथै, १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। यसमा २४१ किलोमिटर पक्की कुलो, दुई किलोमिटर कच्ची कुलो, ३२ डिप ट्युबेल, १६६ सिँचाइ पोखरी र ७६ किलोमिटर पाइपलाइन निर्माण समावेश छन्।
गत आवमा मन्त्रालयका लागि विनियोजन गरिएको १४ अर्ब ४१ करोड बजेटमध्ये चार अर्ब रुपैयाँ खर्च हुन नसकेको पनि मन्त्रालयले जनाएको छ।

