दार्चुला- शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी सरकारी कागजात किर्ते र जालसाजीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्।
जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतको अनुमति लिएर बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
जोशीका अनुसार, उनीहरूलाई मालिकार्जुन अगुवा कृषक समूहसम्बन्धी कागजातमा किर्ते गरी ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने प्रयत्न गरेको आरोपमा पक्राउ गरिएको हो।
अनुसन्धानबाट खुल्न आएअनुसार, कृषि शाखा प्रमुख विष्ट र प्राविधिक धामीले समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाउँदै झूटा कागजात तयार पारेका थिए। निष्क्रिय रहेको समूहको बैंक खाता सक्रिय बनाएर रकम झिक्ने तयारी भइरहेको अवस्थामा घटना सार्वजनिक भएको हो।
ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा विष्टले पत्राचार गरी जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए।
हाल उनीहरूमाथि जालसाजी र सरकारी कागजात किर्ते अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

