काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदरभन्दा केही दक्षिणमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले देशका अधिकांश पहाडी क्षेत्र तथा मधेश र बागमती प्रदेशमा सामान्य बदली भएको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बिहानको समयमा बागमती प्रदेशका केही, कोशी प्रदेशका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि देशका पहाडी भूभागमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षासहित हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

