कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा पुलमुनि २८ सुकुम्बासी परिवार दुई दशकदेखि अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। डडेल्धुराको आलितालबाट विस्थापित दलबहादुर बोहरा सन् २०६२ सालदेखि बनहरा पुलको छेउमा पाल टाँगेर बस्न थालेका हुन्।
“सम्पत्तिका नाममा केही छैन, कहिले काम पाइन्छ, कहिले पाइँदैन,” उनले भने। उनका अनुसार वर्षायाममा बाढी, सर्प र जङ्गली जनावरको त्रास बढ्ने गरेको छ। बाढीबाट जोगिनका लागि उनीहरू राजमार्गको थोरै अग्लो भूभागमा टहरा बनाएर बसेका छन्।
राजमार्ग छेउमै बस्दै आएका अर्का स्थानीय लक्ष्मण विष्ट भन्छन्, “संघीयदेखि स्थानीय तहका पदाधिकारी ओहोरदोहोर गर्छन्, तर कसैले हाम्रो पीडा बुझ्दैनन्।” उनीहरू बारम्बार स्थानीय तहमा सुरक्षित बासको माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्छन्।
सुकुम्बासी प्रेमबहादुर साउदले भारतमा १३ वर्ष मजदुरी गरेर फर्किएपछि पनि यहाँ काम नपाएको बताए। “अब त परिवारको बिहान साँझको छाक टार्नसमेत मुस्किल छ,” उनले भने।
यता, तुलाराम बोहराले भने, “निर्वाचनका बेला नेताहरू आउँछन्, आश्वासन दिन्छन् तर त्यसपछि बेपत्ता हुन्छन्।” उनका अनुसार यहाँका बालबालिकाले विद्यालय जान नपाउने अवस्था छ। सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा भनेको भए पनि विभिन्न शुल्क तिर्न नसकेर पढाइबाट वञ्चित भएको उनीहरू बताउँछन्।
शुक्लाफाँटा नगरपालिकाले सुकुम्बासीहरूलाई नागरिकता र निस्सा वितरण गरे पनि आवास निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था गर्न सकेको छैन। सुरक्षित र स्थायी बसोबासको प्रतीक्षामा रहेका यी परिवारहरूको जीवन अझै असहज परिस्थितिमा बाँकी छ।

