काठमाडौँ- साउन महिनाको पहिलो सोमबार आज सनातन धर्मावलम्बीहरूले भगवान् शिवको पूजा–आराधना र व्रत बस्दै श्रद्धाका साथ मनाइरहेका छन्। सौरमानको पात्रोअनुसार यो सोमबार साउन ५ गते परेको हो।
धार्मिक परम्पराअनुसार साउन महिनाका प्रत्येक सोमबार शिवमन्दिरहरूमा जल, दुग्ध, फूल र बेलपत्र चढाएर शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने परम्परा रहिआएको छ। विशेषतः दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित व्रत बस्ने चलन छ।
व्रत बस्ने मितिका सम्बन्धमा चान्द्रमान र सौरमान अनुसार फरक मान्यता रहेको पाइन्छ।
चान्द्रमानको पात्रो (तिथिअनुसार) अनुसार व्रत असार ३० गतेदेखि सुरु भइसकेको हो। चान्द्रमानमा श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमासम्म पर्ने सोमबारमा व्रत बस्ने परम्परा छ।
सौरमान अनुसार भने साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबारमा व्रत बस्ने गरिन्छ। यस अनुसार श्रद्धालुहरूले साउन ५, १२, १९ र २६ गते व्रत बस्न सक्नेछन्।
यसैबीच, असार ३० गतेदेखि व्रत थालेका भक्तजनहरूले अब ५, १२ र १९ गते सोमबार व्रत बस्नेछन्।
धर्मशास्त्री प्रा.डा. देवमणि भट्टराईका अनुसार यद्यपि दुवै प्रकारका व्रत प्रचलनमा छन्, चान्द्रमान अनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिनु बढी उपयुक्त मानिन्छ।
साउन सोमबार विशेष दिन भएकाले देशभरका शिवमन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। भक्तजनहरू पूजाआजा, व्रत, रुद्राभिषेक तथा जलार्पणमा तल्लिन छन्।

