काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको स्थिति रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबारको मौसम पूर्वानुमान अनुसार
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेकाले ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरिएको छ।

