धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा गाडिएको अवस्थामा भेटिएको एक पुरुषको शव प्रहरीले उत्खनन् गरेको छ। बिहीबार प्रहरीले ३५ वर्षीय गणेश गिरीको शव गाडिएको स्थानबाट बाहिर निकालेको हो। गिरीको शव परम्पराअनुसार अन्त्येष्टि गरिएको भनिए पनि पछाडि उनी हत्या गरेर गाडिएको खुलेपछि प्रहरीले उत्खनन् गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार असार २८ गते राति मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहराले ‘एयरफोन चोरी गरेको’ आरोपमा कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते गिरीको असार ३० गते मृत्यु भएको थियो।
हत्या भएको सूचना पाएपछि प्रहरीले गिरीका भान्जा प्रदीप बोहरा र मृतककै सहोदर भाई ३३ वर्षीय पदम गिरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पदम गिरीले घटनामा मतियारको भूमिका खेलेका छन्।
मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ भने पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

